काठमाडौँ । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै चितवनका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ । वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै चितवनका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
सौराहा, पटिहानी, जगत्पुर, मेघौलीलगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको व्यवसायीहरूले बताएका छन् । आन्तरिक पर्यटकसँगै चिनियाँ र भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा पनि बढेको उनीहरूको कथन छ ।
क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव महेश खनालका अनुसार वर्षायाममा सामान्यतया पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटकको हिस्सा करिब ३० प्रतिशत रहने गरे पनि यस वर्ष समग्र होटलको अकुपेन्सी करिब ५० प्रतिशत पुगेको छ ।
उनका अनुसार सातामा दुई दिन बिदा लागू भएपछि गत वर्षको यही अवधिको तुलनामा आन्तरिक पर्यटक करिब २५ प्रतिशतले बढेका छन् । विद्यालय तथा कलेजमा समेत बिदा परेकाले आन्तरिक पर्यटन थप चलायमान भएको उनले बताएका छन् ।
भारतीय पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको उनले जानकारी दिए । सडक पूर्वाधारका कारण अपेक्षाअनुसार पर्यटक भित्रिन नसकेको उल्लेख गर्दै आउन चाहेका केही आन्तरिक तथा विदेशी पर्यटक अन्य गन्तव्यतर्फ गएको उनको भनाइ छ । पोखरालगायत पहाडी गन्तव्यमा भारतीय पर्यटकको आगमन उल्लेख्य रहेको उनले बताए ।
केही वर्षअघिसम्म वर्षायाममा सौराहाका कतिपय होटल बन्द हुने अवस्था रहे पनि पछिल्ला वर्षमा होटल व्यवसाय विस्तार भएसँगै वर्षायामलाई लक्षित गरी बजार प्रवद्र्धनसमेत गर्न थालिएको छ ।
क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष तथा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेले सातामा दुई दिनको बिदाले पर्यटन क्षेत्र प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए । उनका अनुसार दुई दिनमध्ये एक दिन पर्यटकको चाप कम भए पनि अर्को दिन उल्लेख्य वृद्धि हुने गरेको छ ।
केही दिनअघि भारतको कोलकाता भ्रमणका क्रममा त्यहाँका पर्यटन व्यवसायीले नेपाललाई यस वर्ष आकर्षक गन्तव्यका रूपमा लिन थालेको जानकारी दिएका उनले बताए । भारतीय सरकारले विदेशी मुद्रा सञ्चिति बढाउने नीति अवलम्बन गरेको, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्य गन्तव्यप्रति आकर्षण घटेको तथा थाइल्यान्डले भिसा प्रक्रियामा कडाइ गरेकाले भारतीय पर्यटकले नेपाल रोज्न थालेका उनको विश्लेषण छ । यसको प्रभाव सौराहामा पनि परेको उनले बताएका छन् । सडकलगायत भौतिक पूर्वाधार भएमा अझ धेरै पर्यटक आकर्षित हुने उनको ठम्म्याइ छ ।
क्षेत्रीय होटल सङ्घ चितवनका पूर्वअध्यक्ष दीपक भट्टराईले पनि दुईदिने बिदाका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष पर्यटक बढेको बताए । दुई दिन बिदा हुँदा आन्तरिक पर्यटकको आगमन बढेको उनको अनुभव छ ।
दुईदिने सार्वजनिक बिदाको प्रभाव जिल्लाका अन्य पर्यटकीय गन्तव्यमा पनि परेको छ । पटिहानीस्थित होटल जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले गत वर्षको तुलनामा यस वर्ष पर्यटक बढेका र त्यसको प्रमुख कारण दुईदिने बिदा भएको बताए ।
सौराहामा हाल १४१ होटल सञ्चालनमा छन् । पश्चिम चितवनका पटिहानी, जगतपुर र मेघौलीमा पनि सुविधासम्पन्न होटल छन् । यिनको दैनिक १० हजार पर्यटकलाई सेवा गर्नसक्ने क्षमता छ ।
चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न जीप सफारी, हात्ती सफारी, डुङ्गा सयर गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्