काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत प्रदान गरिएको ‘अवार्ड अफ मेरिट’ औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन तथा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई पुरस्कारको धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा स्थानीय समुदाय, सम्पदा संरक्षणविद्, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता रहेको थियो ।
जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत करिब १३ करोड ७८ लाख रुपैयाँ लागतमा सम्पन्न गरिएको हो । परियोजनामा प्राविधिक परामर्शदाता रूपमा भारतको इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई तथा स्थानीय समुदायसँग समन्वय गर्दै काम गरेको थियो । उक्त परियोजनाको उद्घाटन २०८० चैत ९ गते गरिएको थियो ।
युनेस्कोले यस परियोजनालाई समुदाय–केन्द्रित संरक्षण मोडेल, ऐतिहासिक नेवारी काष्ठकला र परम्परागत वास्तुकलाको संरक्षणसँगै आधुनिक भूकम्पीय सुरक्षाको सफल समन्वय गरेको भन्दै सम्मान प्रदान गरेको जनाएको छ । संरक्षण कार्यका क्रममा स्थानीय नेवार बौद्ध समुदायका धार्मिक अनुष्ठान र सांस्कृतिक अभ्यासहरू अवरोधबिना निरन्तर सञ्चालन हुन सकेको विषयलाई पनि युनेस्कोले विशेष रूपमा प्रशंसा गरेको छ ।
भारत सरकारले २०७२ सालको गोरखा भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता जनाएको थियो । सोही सहयोगअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय र एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था तथा १७ सांस्कृतिक सम्पदा स्थल पुनर्निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ । थप विद्यालय, स्वास्थ्य संस्था तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणका परियोजनाहरू पनि विभिन्न चरणमा रहेका छन् ।
कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख डा. राकेश पाण्डेले जेष्ठ वर्ण महाविहार परियोजनाले भारत–नेपालबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको उल्लेख गर्दै साझा सम्पदाको संरक्षणमा भारत सरकारको सहयोग निरन्तर रहने बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जेष्ठ वर्ण महाविहार संरक्षणमा भारत सरकारको योगदानको प्रशंसा गर्दै ललितपुरका अन्य सम्पदा पुनर्स्थापनामा समेत प्राप्त सहयोगप्रति आभार व्यक्त गरे। उनले युनेस्कोबाट प्राप्त अन्तर्राष्ट्रिय मान्यताले नेपालको सम्पदा संरक्षण अभियानलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए ।
जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिले पनि समयमै उपलब्ध आर्थिक तथा प्राविधिक सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्दै पुनर्स्थापित महाविहार नेपाल–भारत मित्रता र समुदायको उत्थानशीलताको प्रतीक बनेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्