Skip to content
LAXMI SUNRISE BANK

यति इन्टरनेशनल कलेजद्वारा एसपियु कार्यक्रमको पहिलो दीक्षान्त समारोह थाइल्याण्डमा सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ आट्र्स (होटल एण्ड माइस् म्यानेजमेन्ट- बिए–एचएमएम) सन् २०२१ ब्याचको दीक्षान्त समारोह सफलता पूर्वक सम्पन्न गरेको छ । यो दिक्षान्त समारोह नेपालमा यति इन्टरनेशनल कलेजद्वारा सञ्चालित थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (क्एग्)को शैक्षिक कार्यक्रमको पहिलो दीक्षान्त समारोह हो ।

दीक्षान्त समारोहमा ४५ जना स्नातक विद्यार्थीहरूको सफलतालाई सम्मान गरिएको छ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट मान्यता प्राप्त यस अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने कार्यक्रममा स्नातक विद्यार्थीहरू, उनीहरूका परिवार, प्राध्यापकहरू र प्रतिष्ठित अतिथिहरूको उपस्थिति रहेको थियो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कलेजका कार्यकारी अध्यक्ष सञ्जय कुमार झाले स्नातकहरूलाई बधाई दिँदै विश्वव्यापी आतिथ्य र माइस् उद्योगमा प्रवेश गर्दा व्यावसायिकता, निष्ठा र आजीवन सिकाइलाई आत्मसाथ गर्न आग्रह गरेका छन् । कलेजका निर्देशक अणराज सिलवालले अभिभावकप्रति कृतज्ञता व्यक्त गर्दै विश्वव्यापी अवसरहरू खोल्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धतालाई थप स्पष्ट पारेका छन् ।

त्यस्तै, कलेजका प्राचार्य राम दिनेश मिश्रले विद्यार्थीहरूको धैर्यताको प्रशंसा गर्दै दीक्षान्त समारोह अन्त्य नभई जिम्मेवारी र विश्वव्यापी अवसरहरूले भरिएको नयाँ यात्राको सुरुवात भएको कुरामा जोड दिएका छन् ।

दिक्षित हुने विद्यार्थीहरुमध्ये सरगम परियारले आफु लगाएत दिक्षित हुने विद्यार्थीहरूको ४ वर्षे शैक्षिक यात्राका अविस्मरणीय पलहरूलाई स्मरण गरेका थिए । त्यस्तै, प्राध्यापक पदम प्रसाद घिमिरेले परम्परागत रूपमा व्यवस्थापन डिग्री कार्यक्रमहरूद्वारा बाहुल्यता रहेको विषयगत क्षेत्रमा यस्तो मानबिकीशास्त्रको शैक्षिक पाठ्यक्रमको महत्व र उपादेयताका बारेमा थप स्पष्ट पार्दै होटल एण्ड माइस् म्यानेजमेन्टजस्तो विशेष क्षेत्रमा ब्याचलर अफ आट्र्स डिग्री प्राप्त गर्नुको विशिष्ट महत्व र सुन्दरता रहेको बताएका छन् ।

समारोहमा सांस्कृतिक प्रस्तुतिसँगै विद्यार्थीहरुको अनुभव र प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

यति इन्टरनेशनल कलेजले काठमाडौँको बुद्धनगरमार्फत अन्तराष्ट्रिय मान्यता प्राप्त उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ । थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (एसपियु) सँगको सहकार्यमा यति इन्टरनेशनल कलेजले उद्योगमैत्री स्नातक तहमा बिए–एचएमएम, बिए–एबिएम, बिएससी–आईटी र स्नातकोत्तर तहमा एमबिए कार्यक्रमहरू संञ्चालन गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK