काठमाडौँ । बाढी आएको छ, पुलतिर फोटो खिच्नेहरुको रमिता छ । मान्छे मरेका छन्, फोटो भिडियो बनाउनेहरुकै कोलाहल छ । हेर्नै नसकिने तस्विरहरु राखेर, देखाउनै नहुने भिडियो पोष्ट्याएर, संकट, प्रलय संवेदनाकै मजाक उडाइएको छ । यस्तो लाग्छ, ती मान्छेभित्र कुनै भावना छैन । उनीहरुका लागि डलर फलाउने महोत्सव चलिरहेछ । कहिलेकाहिँ त नेपालीहरुको पारा देखेर बाँदरहरुलाई पनि रिस उठ्छ होला । त्यसै बुढापाकाले होइन रहेछन्, ‘बरु गुन्द्रुक सुध्रेर साग बन्ला, जाँड सुध्रेर मही बन्ला तर यी बेवकुफहरु सुध्रनेवाला छैनन् ।’
संकट मजाक होइन, प्रलय ठट्टा गर्ने चिज होइन । बाढीको तागतको कुनै मापन छैन, पहिरोले दिने पीडाको कुनै सिमा छैन । यतिबेला देश दुखेको छ, शहर बगेको छ । सन्तानका बाआमा बगेका छन्, बाआमाका छोराछोरी बगेका छन्, छोराछोरीका साथीसङ्गी बगेका छन् । उठ्नै नसक्नेगरी नियतिले बजारिदिएको छ पूरै बजारलाई । र सबै सबै बगाइदिएर अनगिन्ती लासमाथि नियतिको तमासा देखाइरहेछ प्रलयले । यस्तो बेला सके सबैको सहयोग गरौँ, नसके उपद्रो नगरौँ । मान्छे बाँचे त भिडियो फोटो पछि खिचौँला, अरु कुनै कन्टेन्टमा डलर झारौँला । यो त कष्टको समय हो, कष्टमाथि मजाक नगरौँ ।
बाढी प्रभावित स्थानमा आफ्ना साथी भाइ, इष्टमित्र जो छन्, सकेको मद्दत गरौँ । नदी खोला, पुलबाट टाढा रहौँ । यो नदीबाट माछा निकालेर भोज गर्ने समय होइन । यो सन्नाटाको तस्विर खिचेर डलरे मोज गर्ने समय होइन । ग्यास निकाल्ने लोभमा नदीमा पस्नु बहादुरी होइन । पानीसँग खेलाँची गर्नु कुनै हिसाबले पनि ठिक होइन । त्यसैले सतर्क बनौँ, सचेत बनौँ ।
बालबालिका, वृद्धवृद्धा अशक्त र बिरामीलाई यो संकटका बेला साथ दिउँ, सारथी बनौँ । बिजुलीको पोल, बोर्ड वा विद्युतीय सामाग्रीबाट टाढा रहौँ, उद्धार टोलीलाई सही सूचना दिऔँ, आफूले पनि सही सूचना लिऔँ, चनाखो बसौँ ।
यो बहादुरी देखाउने समय होइन । हेर्दा सामान्य छ भनेर बाढीको बहावमा हिड्ने काम नगरौँ । पानीमा तैरिएका सामानहरु झिक्ने बहानामा भिड्ने काम नगरौँ । यो स्टन्ट गर्ने बेला होइन, बाढीमा मोटरसाइकल वा गाडी चलाउने भूल नगरौँ । बाढीको संकटका बेला कु समाचारको बाढी पनि आएको छ । भ्रामक समाचार सेयर नगरौं, नफैलाऔँ । बाँचेकाहरुको स्वास्थ लाभको कामना गरौँ, हराईरहेकाहरुको सकुशल जीवनका लागि प्रार्थना गरौँ । मृत आत्माहरुको चीर शान्तिको कामना गरौँ । यस्तो बेला ठट्टा र बलजफ्ती गर्ने होइन, इमान्दार र संवेदनशील बनौँ । संकट नआउनु आईसक्यो, सबै सबै बगाईसक्यो । यो दुखको घडीमा संयमित बनौँ, मान्छे हुनुको सत्य नबिर्सौं । सबैलाई सकेको सहयोग गरौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्