Skip to content
LAXMI SUNRISE BANK

डिभाइन हेल्थकेयरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । औषधि उत्पादक कम्पनी डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको जनाएको छ ।

सम्झौता कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको समेत उपस्थिति थियो ।

वि.सं. २०७४ सालमा स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजय नगर, चितवनमा रहेको औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणसम्बन्धी आवश्यक स्वीकृति लिएर मानव स्वास्थ्यका लागि विभिन्न औषधि उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीका अनुसार हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री भइरहेको छ । कम्पनीले आगामी माघदेखि क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (COPD) का बिरामीका लागि आवश्यक Dry Powder Inhaler (DPI) औषधिसमेत उत्पादन गर्ने तयारी गरेको छ ।

करिब १ बिघा क्षेत्रफलमा फैलिएको कम्पनी पछिल्ला तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको जनाएको छ । कम्पनीले हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपूँजीबाट व्यवसाय सञ्चालन गरिरहेको दाबी गरेको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरक रहेको जनाएको छ ।

आईपीओबाट प्राप्त हुने पुँजी नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास, विद्यमान औषधिको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी र सुरक्षित बनाउन अनुसन्धान तथा विकासमा प्रयोग गर्ने कम्पनीको योजना छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK