Skip to content
LAXMI SUNRISE BANK

नेपाल क्यान मुभ ई-कमर्समा प्रवेश, ‘नेपाल क्यान डट कम’ सञ्चालनमा, ग्राहकलाई ४७ प्रतिशतसम्म छुट

अर्थ सरोकार

काठमाडौं । ‘नेपाल क्यान मुभ’ ई–कमर्स क्षेत्रमा प्रवेश गरेको छ । नेपालमा कुरियर तथा ढुवानी सेवाका लागि परिचित कम्पनीले ‘नेपाल क्यान डट कम’ नामक ई-कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।

कम्पनीका सीईओ सुजीत आचार्यका अनुसार प्लेटफर्म अहिले सफ्ट लन्चको चरणमा छ भने ग्राहकले अहिलेदेखि नै वेबसाइटमार्फत विभिन्न सामग्री खरिद गर्न सक्नेछन् । परीक्षणका क्रममा प्राप्त सुझाव र प्राविधिक पक्षमा आवश्यक सुधार गरेपछि आगामी एक महिनाभित्र प्लेटफर्मलाई औपचारिक रूपमा सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

पूर्ण रूपमा नेपाली स्वामित्वमा रहेको प्लेटफर्मले स्वदेशी उत्पादन तथा नेपाली उद्यमीलाई प्राथमिकता दिने लक्ष्य लिएको आचार्यले बताएका छन् । उनका अनुसार अन्य ई–कमर्स प्लेटफर्मको तुलनामा ‘नेपाल क्यान डट कम’ मा बिक्रेताबाट लिइने कमिसन पनि न्यून राखिएको छ ।

हाल प्रमोसनल अफरअन्तर्गत वस्तुको प्रकृति र मूल्यअनुसार २.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्लेटफर्म शुल्क निर्धारण गरिएको छ । विक्रेताको सञ्चालन खर्च कम हुँदा त्यसको लाभ उपभोक्तासम्म पुग्ने र बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउन सकिने कम्पनीको विश्वास छ । प्लेटफर्म सञ्चालनको अवसरमा ग्राहकलाई ४७ प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ ।

‘नेपाल क्यान मुभ’ ले यसअघि नै देशभर आफ्नो कुरियर तथा ढुवानी नेटवर्क विस्तार गरिसकेकाले ई–कमर्स प्लेटफर्म सुरु भएसँगै नेपालभर डेलिभरी सेवा उपलब्ध गराउन सहज हुने कम्पनीले जनाएको छ । लामो समयदेखि सञ्चालनमा रहेको देशव्यापी कुरियर नेटवर्कमार्फत सामान छिटो र प्रभावकारी रूपमा ग्राहकसम्म पुर्‍याउने लक्ष्य रहेको आचार्यले बताए ।

कम्पनीका अनुसार प्लेटफर्ममा विभिन्न विधाका ७० हजारभन्दा बढी उत्पादन सूचीकृत भइसकेका छन् । मोबाइल फोन, ग्याजेट्स, लत्ताकपडा, बेबी केयर, स्वास्थ्य तथा सौन्दर्य सामग्रीदेखि कृषि र खेलकुदका सामानसम्म प्लेटफर्ममा उपलब्ध छन् । हालसम्म एक हजारभन्दा बढी विक्रेता ‘नेपाल क्यान डट कम’ मा आबद्ध भइसकेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK