Skip to content
LAXMI SUNRISE BANK

पठाओले भन्यो- ‘राइडरको उचित आम्दानीको मागप्रति सहमत, समान भाडादर लागू भए संशोधन गर्न तयार’

अर्थ सरोकार

काठमाडौं । पठाओ नेपाल प्रालिले राइडरहरूले उठाउँदै आएको उचित भाडादर तथा प्रतिकिलोमिटर आम्दानीको मागप्रति आफू सकारात्मक रहेको जनाएको छ । कम्पनीले सरकार, राइडर प्रतिनिधि, डिजिटल प्लेटफर्म तथा अन्य सरोकारवालाबीच सहमति भएर सबै प्लेटफर्ममा समान रूपमा लागू हुने न्यूनतम भाडादर निर्धारण भए आफ्नो विद्यमान भाडा संरचना संशोधन गर्न तयार रहेको स्पष्ट पारेको हो ।

पठाओले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा हरेक राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्ने धारणा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार राइडरको आर्थिक सुरक्षा र ग्राहकले पाउने सुरक्षित तथा भरपर्दो सेवा एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएका छन् ।

पछिल्लो समय राइडरहरूले न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडा कायम गर्नुपर्ने माग गर्दै आएका छन् । पठाओले उक्त मागको मूल भावनासँग आफू सहमत रहेको जनाएको छ । कम्पनीका अनुसार हालको भाडा संरचना ठ्याक्कै २५ रुपैयाँ प्रतिकिलोमिटरको ‘फ्ल्याट’ दरमा आधारित नभए पनि विभिन्न दूरीका सामान्य राइडको समग्र गणनामा प्रभावकारी भाडादर औसतमा करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्न आउँछ ।

कम्पनीले बाइक सेवामा रहेको २० प्रतिशतसम्मको कमिसन संरचना परिवर्तन गरी १२ रुपैयाँ निश्चित प्लेटफर्म शुल्क कायम गरेको पनि जनाएको छ । उक्त शुल्क राइडरको आम्दानीबाट कटौती नभई ग्राहकले तिर्ने भाडामै समावेश गरिएको पठाओको दाबी छ । यसमा राइडर तथा ग्राहकको सुरक्षासँग सम्बन्धित बीमा शुल्कसमेत समावेश रहेको कम्पनीले जनाएको छ ।

पठाओले आफ्नो भाडादर वैज्ञानिक आधारमा निर्धारण गरिएको दाबी गरेको छ । भाडा संरचना तयार गर्दा यातायात व्यवस्था विभागबाट नेपाल इन्जिनियरिङ अध्ययन संस्थानले २०६५ सालमा तयार गरेको वैज्ञानिक भाडादरसम्बन्धी प्रतिवेदनमा आधारित ढाँचालाई आधार मानिएको कम्पनीको भनाइ छ । इन्धन, सवारीसाधनको लागत तथा ह्रास, मर्मतसम्भार र सञ्चालन खर्चलाई ध्यानमा राखेर ‘बेस फेयर’, ‘प्रति किलोमिटर’ र ‘प्रति मिनेट’ दर समावेश गरी भाडा निर्धारण गरिँदै आएको कम्पनीले जनाएको छ ।

पठाओले राइडरको सुरक्षा र हितका लागि बीमा, २४ घण्टा कल सेन्टर, क्विक रेस्पोन्स टिम तथा ‘Pathao Benefit Program’ अन्तर्गत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।

कम्पनीले राइड-सेयरिङ क्षेत्रको नियमन भाडादरमा मात्रै सीमित गर्न नहुने धारणा राखेको छ । न्यूनतम र अधिकतम भाडादरसँगै बीमा, सुरक्षा मापदण्ड, दुर्घटना तथा आपत्कालीन प्रतिक्रिया, गुनासो व्यवस्थापन र राइडर तथा ग्राहकको हित संरक्षणसम्बन्धी समान मापदण्ड आवश्यक रहेको पठाओको भनाइ छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीद्वारा जारी विज्ञप्तिमा राइडरले सम्मानजनक र दिगो आम्दानी गर्न पाउने, ग्राहकले सुरक्षित तथा उचित मूल्यमा सेवा पाउने र नेपालको राइड-सेयरिङ उद्योग स्वस्थ, निष्पक्ष तथा दिगो बनाउने आफ्नो उद्देश्य रहेको उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK