Skip to content
LAXMI SUNRISE BANK

इसेवा लगायतका वालेटमा राष्ट्र बैंकको ‘इन्सपेक्सन’ गम्भीर त्रुटीहरु फेला, आन्तरिक सुशासन अत्यन्त कमजोर !

अर्थ सरोकार

काठमाडौँ । इसेवा लगायतका वालेट सञ्चालनमा गम्भीर त्रुटीहरु फेला परेको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘इन्स्पेक्सन’का क्रममा सो तथ्य फेला परेको हो । 

राष्ट्र बैंकले इसेवासहित स्मार्ट कार्ड, खल्ती, नेपाल डिजिटल पेमेन्ट, फोकसवन, विपे, आईक्यास, फिनटेक इन्टरनेसनल, डिजी पे, लेनदेन सेवा, नेपाल पेटाइम, छिटो पैसा र सिटी वालेटमा स्थलगत निरीक्षण गरेको थियो । 

इन्सपेक्सनका क्रममा राष्ट्र बैंकले इसेवासहितका वालेटहरुको आन्तरिक सुशासन अत्यन्त कमजोर रहेको तथ्य फेला पारेको छ । यति मात्र होइन, यी संस्थाहरुले जोखिम व्यवस्थापन ढाँचा, सञ्चालन प्रक्रिया र नियमहरुको पालनासमेत नगरेको राष्ट्र बैंकको इन्सपेक्सनले खुलासा गरेको छ । 

राष्ट्र बैंकको अनुसार संस्थाहरुले तोकिएको समयभित्र प्रणाली सञ्चालन गर्न असफल भएको, आन्तरिक नियन्त्रण नीति र जोखिम व्यवस्थापन नीति सञ्चालक समितिबाट समीक्षा समेत नगरेको पाइएको छ । 

त्यस्तै, वालेटको सक्रिय वा निष्क्रिय अवस्था हेर्न मिल्ने प्रणाली नभएको र एन्टिभाइरस सफ्टवेयर नवीकरण नगर्दा साइबर सुरक्षा उच्च जोखिममा रहेको पनि राष्ट्र बैंकले औँल्याएको छ । सँगै भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुको व्यवसायिक सञ्चालनका लागि पर्याप्त भौतिक पूर्वाधार नभएको र ती संस्थाहरुले वार्षिक बजेटमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रमहरु समावेश नगरेको पनि पाइएको छ । 

यसबाहेक राष्ट्र बैंकले यी संस्थाहरुले तोकिएको समय अवधिभित्र सिइओ नियुक्त नगरेको, लेखापरीक्षण नगरेको, जोखिम मूल्याङ्कन र पेनिट्रेसन टेस्टिङ नगरेको, उत्पादन वातावरणमा डिजास्टर रिकभरी ड्रिल वा अभ्यास नभएको, ‘निश्चित समयपछि वालेटको ‘सेसन’ स्वतः समाप्त हुने व्यवस्था नगरेको, फर्स्यौट खातालाई फर्स्यौट र वालेट कारोबार बाहेक अन्य प्रयोजनका लागि प्रयोग गरिएकाजस्ता गम्भी त्रुटीहरु पनि फेला पारेको छ ।

अर्कोतर्फ भुक्तानी सेवा प्रदायक संस्थाहरुमा प्रयोगकर्ताको विवरण गोपनीयता र सूचना सुरक्षा जोखिम रहेको पनि राष्ट्र बैंकको इन्सपेक्सनले औँल्याएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK