काठमाडौं । लेखामान बोर्ड नेपालले नेपाल वित्तीय प्रतिवेदनमान (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स, एनएफआरएस) १८ को मस्यौदा सार्वजनिक गरेको छ । नेपालमा कम्पनीहरूले आफ्नो नाफा–नोक्सान प्रस्तुत गर्ने विद्यमान ढाँचामा महत्वपूर्ण परिवर्तन गर्ने गरी ‘एनएफआरएस १८, वित्तीय विवरणमा प्रस्तुति तथा खुलासा’ सम्बन्धी लेखामानको मस्यौदा सार्वजनिक गरेको हो
एनएफआरएस नेपालमा कम्पनी तथा अन्य निकायले वित्तीय विवरण तयार गर्दा पालना गर्नुपर्ने लेखासम्बन्धी मापदण्ड हो ।
लेखामान बोर्डले यी मापदण्ड अन्तराष्ट्रिय लेखामान बोर्ड (इन्टरनेसनल एकाउन्टिङ स्ट्यान्डर्ड्स बोर्ड, आईएएसबी) का मानसँग तालमेल हुने गरी जारी गर्दै आएको छ । आईएएसबीले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (इन्टरनेसनल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स, आईएफआरएस) १८ सन् २०२४ अप्रिलमा जारी गरेको थियो । यो मान सन् २०२७ जनवरी १ देखि अन्तराष्ट्रिय रूपमा लागू हुँदैछ । यसले लामो समयदेखि प्रचलनमा रहेको आईएएस १ लाई प्रतिस्थापन गर्नेछ । एनएफआरएस १८ सोही अन्तर्राष्ट्रिय मानलाई नेपालमा अपनाउने प्रयास हो ।
लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धितालका अनुसार एनएफआरएस १८ ले कम्पनीहरूको वित्तीय विवरण प्रस्तुत गर्ने तरिकामा परिवर्तन ल्याउनेछ । अहिले कम्पनीहरूले आम्दानी र खर्च आ–आफ्नै तरिकाले देखाउँदा वित्तीय विवरण तुलना गर्न कठिन भइरहेको छ । नयाँ व्यवस्थाले सबै कम्पनीलाई आम्दानी र खर्चलाई सञ्चालन, लगानी र वित्तीय वर्गमा छुट्याएर प्रस्तुत गर्नुपर्ने बनाउनेछ।
यसअन्तर्गत सञ्चालन नाफा लगायतका मुख्य वित्तीय सूचक स्पष्ट रूपमा देखाउनुपर्नेछ। कम्पनीले ‘समायोजित नाफा’ जस्ता आफ्नै मापक प्रयोग गरेमा त्यसको आधार र लेखामानअनुसारको नाफासँगको सम्बन्ध पनि खुलाउनुपर्नेछ ।
नयाँ व्यवस्था लागू गर्न कम्पनीहरूले लेखा तथा ईआरपी प्रणालीमा समेत परिवर्तन गर्नुपर्ने हुन सक्छ । पुराना तथ्याङ्कलाई नयाँ ढाँचामा मिलाउन सुरुवाती चरणमा थप समय र खर्च लाग्न सक्नेछ ।
बैंक, बीमा र लगानी कम्पनीमा भने वर्गीकरण केही चुनौतीपूर्ण हुन सक्छ, किनकि उनीहरूको मुख्य कारोबार नै ब्याज, लगानी र वित्तीय गतिविधिसँग जोडिएको हुन्छ । त्यसैले एनएफआरएस १८ को प्रभाव कम्पनीको व्यवसाय र हालको लेखा प्रणालीअनुसार फरक पर्नेछ ।
बोर्डले मस्यौदामाथि सबै सरोकारवालासँग सुझाव मागेको छ । प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा मस्यौदालाई अन्तिम रूप दिइने बोर्डले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्