Skip to content
LAXMI SUNRISE BANK

सब्स्क्रिप्सन मोडलमा पठाओ, अब राइडरले कमिसन तिर्नुनपर्ने !

अर्थ सरोकार

काठमाडौँ । राइड सेयरिङ एप पठाओले राइडर तथा क्याप्टेनहरुका लागि सब्स्क्रिप्सन मोडल लागू गर्ने घोषणा गरेको छ । पठाओले कमिसनमा आधारित आम्दानी प्रणालीलाई परिवर्तन गर्दै सब्स्क्रिप्सनमा आधारित प्रणाली लागू गर्ने घोषणा गरेको हो ।

नयाँ व्यवस्थाअनुसार पठाओ क्याप्टेनले प्रत्येक राइडको आम्दानीबाट प्रतिशतका आधारमा कमिसन बुझाउनुपर्ने छैन । पठाओका अनुसार कमिसनको सट्टा अब राइडर तथा पठाओ क्याप्टेनहरुले दैनिक, साप्ताहिक वा मासिक निश्चित सब्स्क्रिप्सन शुल्क तिरेर राइड गर्न सक्नेछन् ।

पठाओका अनुसार कारका लागि सब्स्क्रिप्सन शुल्क २४ घण्टाका लागि रु. १४९, ७ दिनका लागि रु. ६९९ र ३० दिनका लागि रु. २,२९९ तोकिएको छ । त्यस्तै, बाइकका लागि २४ घण्टाको रु. ४९, ७ दिनको रु. २९९ र ३० दिनको रु. ९९९ शुल्क तोकिएको छ ।

‘उचित दर, मेहेनतको कदर’ भन्ने नारासहित आफ्नो ८औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक भएको यो अफरको सब्स्क्रिब्सन प्याकेज राइडर तथा पठाओ क्याप्टेनले पठाओ ड्राइभ एपबाट खरिद गर्न सक्नेछन् ।

ग्राहकले तिर्ने राइड भाडामा लाग्ने ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस भने यथावत् रहनेछ । यी करसम्बन्धी रकम सब्स्क्रिप्सन शुल्कभन्दा छुट्टै रूपमा ड्राइभरको दायित्वमा रहने पठाओले जनाएको छ ।

पठाओले ल्याएको यस्तो सुविधाले राइडरहरु लाभान्वित हुने विश्वास पठाओले लिएको छ । विभिन्न राइड शेयरिङ प्लेटफर्मका राइडर तथा क्याप्टेनहरुले न्यून भाडादरको विषयमा आवाज उठाइरहेका बेला पठाओले ल्याएको यस्तो सुविधालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि राइडरहरूले उठाउँदै आएको रु. २५ प्रतिकिलोमिटरको मागप्रति पनि पठाओले सकारात्मक धारणा सार्वजनिक गरिसकेको छ । यद्यपी पठाओले स्वच्छ प्रतिष्पर्धाका लागि सबै राइड सेयरिङ प्लेटफर्ममा समान भाडादर लागू हुनेगरी सरकारले स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK