तनहुँ । तनहुँको स्थानीय आँबुखैरेनी गाउँपालिका-१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा १० लाख मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन् । सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि ९ लाख बराबरको फूल बिक्री गरेका थिए ।
तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ । अहिले त्यस क्षेत्रका महिला फूल टिप्ने, बिक्रीका लागि तयारी गर्ने र भण्डारण गर्ने काममा व्यस्त छन् । टिपिएका फूललाई बिक्रीको समयसम्म ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गरिएको समूहका अध्यक्ष सुन्तली गुरुङले बताइन् ।
तीन वर्षअघि स्थानीय महिलाले सुरु गरेको व्यावसायिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । यसमा ४५ जना महिला आबद्ध छन् । सामूहिक रूपमा गरिएको फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्रै बनेको छैन, आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने अवसरसमेत बनेको उनले बताइन् ।
फूलखेतीको उत्पादन र क्षेत्रफल बढ्दै गएपछि बजारमा पनि माग आउन थालेको छ । पहिलो चरणमा टिपिएको फूलमध्ये ५० किलोको माग आएको थियो । दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले उक्त फूल खरिद गरिसकेका छन् ।
गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आम्दानीमा थप वृद्धि गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउन पनि सहयोग पुगेको उनको भनाई छ । उनका अनुसार प्रतिकिलो रु चार सयसम्म फूल बिक्री हुने गरेको छ ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले महिलाले उत्पादन र बिक्रीलाई सोहीअनुसार व्यवस्थापन गरिरहेका छन् । फूल टिपेर चिस्यान केन्द्रमा राख्ने व्यवस्थाले बिक्रीका लागि तयार पारिएको फूल ताजा राख्न सहयोग पुगेको उनले उल्लेख गरिन् ।
आँबुखैरेनी गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार व्यावसायिक फूलखेतीका लागि बजारको समस्या छैन । स्थानीयस्तरमै महिलाले उत्पादन गरेको फूलको माग आउन थालेपछि उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको उनले बताएका छन् । सामूहिक प्रयास, बजारको माग र चाडपर्वमा हुने फूलको खपतलाई आधार बनाएर आँधीमूलका महिला यस वर्षको बिक्री लक्ष्य पूरा गर्ने तयारीमा छन् ।
तिहारमा घर, मठमन्दिर र सार्वजनिकस्थल सजाउन प्रयोग हुने सयपत्री फूलको व्यावसायिक खेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै महिलाको आम्दानी बढाउने सम्भावना देखाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्