काठमाडौँ । नजिकिदैँ गरेको दशैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन् । आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा बोल्दै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिएको साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाएको बताएका हुन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो । उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन नसकेको उहाँले बताउनुभयो । स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिदाँ प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशिल भट्टराईले चाडपर्वको समयमा पेट्रोलियम पद्धार्थको आपूर्ति सहज रुपमा हुने बताउनुभयो । पेट्रोलियम पद्धार्थको माग अनुरुप आपूर्ति गर्न आयल निगम सक्षम रहेको उहाँको भनाई छ । गुणस्तर र परिणामको सन्दर्भमा कुनै गुनासो भए निगमलाई जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।
महानगरीय प्रहरी प्रभाग उपत्यका प्रहरीका प्रवक्ता सुशिलसिंह राठौरले उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको बताउनुभयो । उहाँले आर्थिक अपराध, चोरी, लुटपाट, ठगि लगायतका घटना नियन्त्रणका लागि उपत्यकामा थप ७ हजार ५०० भन्दाबढी प्रहरी परिचालन गरीएको बताउनुभयो । व्यापारिक केन्द्रलाई प्रहरी निगरानीमा राखिएको उहाँले बताउनुभयो । उपत्यकामा १३१ स्थानमा ट्राफिक प्रहरी राखिएको, ३९ ठाउँमा थप मोवाइल गस्ती राखिएको, ८० ठाउँमा पैदल गस्ती राखिएको, २८ ठाउँमा हेल्पडेस्क राखिएको पनि उहाँले जानकारी दिनुभयो । हाल उपत्यकाको शान्ति सुरक्षा सामान्य रहेको जनाउँदै ढुक्क भएर चाडपर्व मनाउन र कुनै असुविधा भएमा प्रहरीको सेवा लिन प्रवक्ता राठौरले आग्रह गर्नुभयो ।
वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सेढाईले उपभोक्ता अधिकार र बजार अनुगमनमा सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । विभाग स्रोत अनुगमन र सूचनामा आधारीत अनुगमनमा केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो । बजार अनुगमनका लागि हाल विभागले ६ वटा टोली परिचालन गरी लत्ताकपडा, खाद्यान्न र मासुको मूल्य र गुणस्तरमा केन्द्रीत भएर बजार अनुगमन गरीरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सुरक्षा योजना बनाएर प्रशासन क्रियाशील भएको बताउनुभयो । भीडभाड हुने ११ ठाउँमा हेल्प डेस्क राखिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले गुनासो सुन्ने अधिकारी तोकेको पनि उहाँले जानकारी दिनुभयो । सिमानाकाको चेकजाँच र ट्राफिक सक्रियता बढाएको उहाँले बताउनुभयो । उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबिच समन्वय रहेको पनि उहाँको भनाई छ ।
ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्वमा सडक दुर्घटना हुने सन्दर्भलाई ख्याल गर्दै बाटोमा हुने खाल्डाखुल्डी पुर्न सहजीकरण गर्नका लागि बैठकहरु बसिरहेको बताउनुभयो । बजार अनुगमनका लागि स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिरहेको पनि उहाँको भनाई छ । खाद्यान्न, लत्ता कपडा, मासुजन्य पद्धार्थमा केन्द्रीत भएर बजार अनुगमन गरिरहेको पनि उहाँले बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले विभागले दाल, चामल, मरमसला, तेल, दुग्ध पद्धार्थलाई केन्द्रीत गरेर बजार अनुगमन गरिरहेको बताउनुभयो । बिदाको दिनमा पनि निरन्तर अनुगमन र जाँचमा मातहतका निकायलाई परिचालित गरिरहेको उहाँले बताउनुभयो । ललितपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रशासनले एकीकृत सुरक्षा रणनीति अन्र्तगत काम गरिरहेको बताउनुभयो । १८ वटा गाडी, २० वटा मोटरसाइकलमा नियमित रुपमा गस्ती अनुगमन गरिरहेको उहाँले उल्लेख गर्नुभयो । बैंक तथा वित्तिय संस्थामा अनुगमन तिव्र पारिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णबहादुर राउतले मुख्य सचिव नेतृत्वको केन्द्रीय अनुगमन समितिले निरन्तर बैठक बसि संयुक्त बजार अनुगमन, भीड व्यवस्थापन, आवागमनमा सहजता बनाउने विषयमा विभिन्न निर्णय गरी सम्बन्धित मन्त्रालयमा पठाएको र मन्त्रालय मातहतबाट काम भइरहेको बताउनुभयो । उहाँले तिनै तहको सरकारले अनुगमनको काम गर्नुपर्नेमा जोड दिनुभयो । बजारलाई अनुशासित बनाउनका लागि प्रविधिको प्रयोग गरेर अनुगमनलाई जोड दिन सम्बन्धित निकायलाई उहाँले आग्रह गर्नुभयो । उहाँले व्यवसायीलाई उपभोक्तालाई नठग्न पनि आग्रह गर्नुभयो ।
सचिव राउतले कानूनले वर्जित गरेका कुराहरु बेचविखन नगर्न समयमै व्यापारी, व्यवसायीहरुलाई सचेत गराउन पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :