×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६० करोडमा बनेको भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थाल्यो, ३५ सिटको जेटबोटसमेत सञ्चालन

PRIME CA

६० करोडमा बनेको भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थाल्यो, ३५ सिटको जेटबोटसमेत सञ्चालन

१६ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

सर्लाही । यहाँस्थित मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।
चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको जेटबोट समेत सञ्चालन गरिएको छ । ताल पूर्णरुपमा निर्माण हुन अझै केही महिना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटरबोटले पर्यटकको मन लोभ्याउने गरेको छ ।
तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको नगरपालिकाले जनाएको छ । अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाँल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको वाग्मती नगरप उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा हेरिन थालिएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक दुई हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।
तालको नजिकै सुमेरी पर्वत बताउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पना गरिएको तालका कल्पनाकार तथा नगरप्रमुख भरत थापाले जानकारीदिनुभयो । उहाँका अनुसार तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि बगैँचा तथा घेराबेराको काम पनि भइरहेको छ ।
त्यसैगरी तालको वरिपरि खाजाघरहरु धमाधम निर्माण भइरहेका छन् । तालमा घुम्न आउने आन्तरिक पर्यटकले रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफूलाई पोखराको फेवाताल घुमेको महसुस भएको ताल घुम्न आएका प्रकाश दाहालले बताउनुभयो । रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न आनन्द भएको उहाँले सुनाउनुभयो । “बोट चढ्न पोखरा नै जानुपर्छ जस्तो लाग्थ्यो, अहिले त यतै सरर । बिदाको दिन होस् या चाडबाडको समय भरत ताल व्यस्त नै देखिँदो रहेछ । उक्त तालको सौन्दर्य बढाउनका लागि हाँससमेत पालिएको रहेको छ । तालमा पौडिने हाँसको दृश्यले पर्यटकको मन झनै लोभिने गरेको पाइयो,” उहाँले भन्नुभयो ।
नगरप्रमुख थापाले अबको तीन चार महिनामा ताल निर्माणको काम सम्पन्न गरिने जानकारी दिनुभयो । तालले गर्दा पर्यटकको आगमन त छँदैछ पूर्णरुपमा ताल निर्माण भइनसक्दै धेरै जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीसमेत पाएका उहाँले बताउनुभयो । मनोरञ्जनका लागि तालमा पाँच बोट राखिएको छ भने अझै पाँच बोट थप गरिने नगरप्रमुख थापाले जानकारी दिनुभयो । तालमा सजावट र रिसोर्टहरुको काम केही महिनामा सम्पन्न हुनेछन् । तालको सम्पूर्ण काम सकिएपछि उक्त तालमा पनि टिकट सिस्टम लागू गरिने नगरपालिकाले जनाएको छ । १२१ बिघामा निर्माण गरिएको उक्त तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ । जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध छ ।
साथै केही समयपछि उक्त तालमा माछापालन पनि गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । तालमा सौन्दर्य र रिसोर्ट लगयतका काम सकिएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक हजार ५००स्थानीयवासीलाई रोजगारी पाउँने जनाइएको छ । नगरपालिकाले नगर बगैँचा र फनपार्कसमेत निर्माण गरिरहेको छ । नगरवासीलाई रोजगारी पनि दिने र नगरको आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैँचा र फनपार्क निर्माण भइरहेको बताइएको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: