काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा विभिन्न देशबाट एक लाख ३५ हजार ३७० केजी चाँदी आयात भएको छ । सो अवधिमा एक अर्ब २१ करोड १० लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट नेपालमा चाँदी आउने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आवको भदौ महिनामा सबैभन्दा बढी ४२ हजार ९५२ केजी चाँदी नेपाल भित्रिएको छ । जसबाट सरकारलाई ३६ करोड ५० लाख ९२ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ । यस्तै सबैभन्दा कम पुस महिनामा भएको छ । सो महिना ६ सय केजी मात्र सुन नेपाल भित्रिएको छ । जसबाट ६४ लाख २० हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
यस्तै साउनमा २६ हजार २ सय केजी, असोज महिनामा ३८ हजार ७५७ केजी, कात्तिक महिनामा २१ हजार ५ सय केजी चाँदी, मंसिर महिनामा तीन हजार केजी, माघ महिनामा एक हजार २८१ केजी, फागुन महिनामा एक हजार ८० केजी चाँदी आयात भएको छ ।