काठमाडौं । विद्युतीकरण गर्दा चार करोड २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष खड्कासमेतको मिलेमतोमा उक्त गाउँपालिकाको वडा नं. ४ बिजुलीकोट, वडा नं. ५ नागदह र वडा नं. १ दुरागाउँमा विद्युतीकरण गर्ने क्रममा विद्युतीय सामान खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफू अनुकुलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले गाउँपालिका अध्यक्ष खड्काले वडा नम्बर १ को विद्युतीकरणमा दुई करोड ९४ लाख २५ हजार २०२, वडा नम्बर ४ को विद्युतीकरणमा एक करोड २६ लाख ७५ हजार ५०३ रुपैयाँ हिनामिना गरेको जनाएको छ । अध्यक्ष खड्काविरुद्ध चार करोड २१ लाख रुपैयाँ विगो मागदावी गरिएको छ ।
यस्तै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, तत्कालिन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै अख्तियारले अर्को उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पाइक कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङ (रुम्बा), वडा नम्बर १ को विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ र सचिव यज्ञराज सुनुवार, वडा नम्बर १ कै उपभोक्ता समितिका अध्यक्ष वुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका, अर्को उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घन्टिका देवी सुनुवार र सचिव क्याल्बु लामाविरुद्ध पनि विशेष अदालतमा मुद्दा परेको छ । यस्तै वडा नम्बर १ कै अर्को उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार र गाउँपालिका कार्यालयका तत्कालिन लेखापाल नोर्बु लामाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।