काठमाडौं । नेपाल राष्ट्र बैंकले जरी बिल जारी गर्ने भएको छ । बैंकले ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनकाका लागि ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
चैत २२ गते मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि चैत २१ गते सोमबार आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने भएको छ । बैंकले जारी गर्न लागेको २८ दिन ट्रेजरी बिल २०७९ वैशाख २० गते परिपक्व हुनेछ भने ९१ दिने २०७९ असार २१ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने २०७९ असोज १८ गते र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल २०७९ चैत २१ गते परिपक्व हुनेछ ।
बोलकबोलमा सहभागि हुने बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकमध्ये सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।