×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्नपूर्ण क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित, पूर्वाधार विकासले लिन थाल्यो गति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्नपूर्ण क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित, पूर्वाधार विकासले लिन थाल्यो गति

Artha Sarokar

२७ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गलेश्वर । राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानैलयमा फर्किन सुरु भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म सुस्ताएको पर्यटन क्रियाकलापले गति लिन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कास्कीको नयाँ पुलबाट सुरु हुने राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी करिब ५०० को हाराहारीमा आन्तरिक पर्यटक भित्रिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र वीरेठाँटी चेक पोष्टले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा चहलपहल समेत बढ्दै गएको छ भने पूर्वाधार विकासले पनि गति लिन थालेको छ ।

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै जान थालेपछि अधुरा रहेका पूर्वाधार विकासका काम पनि सुरु हुन थालेका घोडेपानीका होटल व्यवसायी सुरेन गुरुङले जानकारी दिए। गुरुङका अनुसार अन्नपूर्ण पदमार्गमा विशेषगरी जर्मनी, फ्रान्स, इजरायल, अष्ट्रेलिया, अमेरिका बेलायतलगायत देशका पर्यटक बढी आउने गरेका छन् भने पछिल्लो समय आन्तरिक पर्यटक उल्लेख्य बढेको छ । पदमार्गमा असोजदेखि चहलपहल बढेको उनले बताए । वर्षौंदेखि पर्यटकलाई लक्षित गरी खोलिएका होटलसमेत कोरोनाका कारण बन्द हुने स्थितिमा पुगेका थिए । पछिल्लो समय बन्द भएका होटल समेत सञ्चालनमा आएका छन् भने नयाँ होटल समेत थपिँदै गएको व्यवसायी बताउँछन् ।

“यस क्षेत्रको मुख्य व्यवसाय नै होटल हो”, गुरुङले भने,“कोरोनाका कारण धेरै होटल बन्द भए । अहिले पर्यटक आउन थालेसँगै पुनः सञ्चालनमा आउन थालेका छन् ।” व्यवसायीका अनुसार कोरोनाले बन्द भएका होटल गत माघ महिनादेखि भरिभराउ हुनथालेका हुन् । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । कास्कीको नयाँ पुलबाट सुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ, अन्नपूर्ण आधार शिविर पुग्छ भने पर्यटक वीरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ् पुग्छन् ।

अन्नपूर्ण पदयात्रा मार्गमा मोटरबाटो पुगेर पदमार्ग छोटिएको अवस्थामा नयाँ रुटको विकास गर्न टान पश्चिमाञ्चलले गृहकार्य गरिरहेको सो संस्थाका सुशील पौडेलले बताए  । उनका अनुसार २१ दिनबाट एक सातामा झरेको राउन्ड अन्नपूर्णको विकल्पमा अर्को रुटको तयारी भैरहेको छ । “वीरेठाँटीबाट घोडेपानी, स्वाँत, खोप्रा, हिडनलेक हुँदै छोम्रोङ पुग्ने र त्यहाँबाट लान्द्रुक, मर्दी हिमाल, माछापुच्छ्रे मोडेल ट्रेक हुँदै सार्दीखोला निस्कने र त्यहाँबाट घलेखर्क, तारा हिलटप, सिक्लेस, कफुचे, कोरी, क्व्होलासोंथर हुँदै नामुन पास भएर मनाङबाट बाहिरिने ट्रेलको अवधारणा छ, यो ट्रेलको विकास गर्न सके २५ दिनसम्म अन्नपूर्ण क्षेत्रमा नै पर्यटकलाई भुलाउन सकिन्छ”, पौडेलले भने । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी