श्रीलंकामा इन्धन अभावकै कारण चौतर्फी समस्या भएपनि श्रीलङ्का एयरलाइन्सले आफ्नो सेवा सूचारु नै राख्ने भएको छ । श्रीलंकामा इन्धन अभावकै बीच एयरलाइन्सले एक साताभन्दा बढी समयदेखि इन्धनको उचित व्यवस्थापन गरेर आफ्नो उडान तालिका नियमित गर्न सफल भएको बताएको छ ।
एयरलाइन्सद्वारा जारी एक विज्ञप्तिमा कुनै पनि अवरोध नभई आफुहरुले हवाई तालिका सार्वजनिक गरेकोसमेत उल्लेख छ । इन्धन अभावका बाबजुद आफ्नो उडान तालिका शतप्रतिशत प्रभावकारी रूपमा सञ्चालन गर्न सकेको जानकारी गराउंदै कम्पनीले देशले भोगिरहेको संकटको स्थितिमा सबैलाई संयमता अपनाउनसमेत आग्रह गरेको छ ।
आर्थिक संकटका कारण श्रीलंकामा इन्धनको चरम अभाव छ । इन्धन अभावकै कारण देशका थुप्रै कल कारखानाहरु बन्द भईसकेका छन् भने इन्धन अभावकै कारण विद्यालयहरुसमेत बन्द गरिएका छन् । केहि दिन अघि देखि बन्द गरिएको इन्धन वितरणको काम भने सूचारु गरिएको छ ।