×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : मेरो माइक्रोफाइनान्सका सीइओले सद्धे कर्मचारीलाई ‘पागल’ भनेर प्रहरीकहाँ उजुरी दिएपछि हंगामा…

PRIME CA

EXCLUSIVE : मेरो माइक्रोफाइनान्सका सीइओले सद्धे कर्मचारीलाई ‘पागल’ भनेर प्रहरीकहाँ उजुरी दिएपछि हंगामा…

२४ माघ २०७९, मंगलवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । मेहेनत के हो ? यो प्रश्नको जवाफ खोज्नु पर्यो भने कि त एसएलसी दिन लागेकाहरुकाई सोध्नु, कि सिए पढेकाहरुलाई सोध्नु रे ! अनि कामको प्रेसर भनेको कस्तो हुन्छ भन्ने प्रश्नको जवाफ चाहिए लघुवित्तका कर्मचारीलाई सोध्नु रे ! हो हुन पनि लघुवित्तको जागिर भनेकै सार्है प्रेसरको जागिर हुन्छ । त्यसमा पनि तल्लो तहका कर्मचारीहरुले लघुवित्तमा गर्ने मेहेनत फलामको च्युरा चपाउनुभन्दा कम छैन ।

एकाविहानै उठ्यो, मुख धुन पनि राम्रो सँग फुर्सद नपाई अफिस जान हतार भईहाल्छ । विहानै ८ बजे अफिस नपुगे हाकिमले स्पष्टीकरण सोधीहाल्छन्, के गर्नु जागिर खाएपछि हाकिमले भनेको मान्नै पर्यो । विहानभर काम, दिउँसो काम, बेलुकी अबेरसम्म काम, काम काम, काम । अझ त्यसमाथि लघुवित्तका कतिपय सदस्यहरु भनेको समयमा ऋण तिर्दैनन्, हाकिम किन ब्याज असुलिएन भनेर कराउँछन्, आखिरमा प्रेसर उही कर्मचारीलाई नै । आज काम, भोलि काम पर्सि काम । हप्ताको एक दिन त जसले पनि विदा पाउनुपर्ने हो, तर लघुवित्तले शनिबार पनि काममै बोलाउने, चाडबाडमा पनि काममै बोलाउने । एक दिन अफिस नगए त हाकिमको स्वास नै जान्छ जसरी काममा पलाउने । यो एक होइन, दुई होइन, धेरै लघुवित्तको समस्या हो ।

त्यसमाथि बिदाको दिन आएको छुट्टै पैसा दिए त हुने नि, अहँ, बरु थकित भएर एक घुट्की पानी खाँदा पनि आज एक्सट्रा एक घण्टा काम अझै गर है भन्ने हाकिमको भनाई दिनहुँ सुन्ने लघुवित्तका कर्मचारीले संस्थाबाट बिदाको दिन आएको छुट्टै पैसा दिंदैनन । यहाँसम्म त छँदै थियो, हुँदा हुँदा बर्षमा एक दिन पनि बिदा नदिने र सार्है टर्चर भयो भनेर बिदा माग्दा कम्पनीका सीइओले यो कर्मचारी नै पागल हो भनेर प्रहरीमा उजुरीसम्म दिएछन् एक लघुवित्तमा ।

घटना के हो ? 

घटना मेरो माइक्रो फाइनान्सको हो । नविन कुमार शाह नाम गरेका एक कर्मचारीले बिदा चाहियो भनेर बिदा मागेछन् । उनकै भाषामा भन्दा बर्षमा बल्ल बल्ल एक पटक बिदा माग्दा पनि हाकिमले बिदा स्वीकृत गरेनन् । सार्है गाह्रो भएको र बिदामा बस्नैपर्ने बाध्यता भएपछि उनी विदाको निवेदन दिएर बिदामा बसे । तर उनको विदा स्वीकृत नै भएनछ । बल्ल बल्ल केहि दिन अत्यावश्यक काममा बस्दा पनि बिदा नदिएर उल्टै कम्पनीले किन गयल भएको भनेर स्पष्टीकरण सोधेपछि उनले पनि आफुलाई कम्पनीले टर्चर दिएको, हाकिम जुन बेला पनि बिदामा बस्न पाउने, हामीले बर्षमा एक पटक पनि नपाउने भन्दै स्पष्टीकरण बुझाएछन् । आफुले उठ भने उठ्नुपर्ने, बस भने कर्मचारी बस्नुपर्ने सोचमा रहेका हाकिमलाई यो सह्य हुने कुरै भएन ।

अझ त्यसमाथि पनि नविन कुमार शाहले फेसबुकमा प्राइभेट सेक्टरमा बिदा नदिने गरेको समस्याले पोखे । त्यसमा उनका केहि साथीहरुले कमेन्ट पनि गरे । त्यसपछि त कम्पनीलाई के चाहियो ? फेसबुकमा स्ट्याटस लेख्नेमात्र होइन कमेन्ट गर्नेलाई पनि कम्पनीले स्पष्टीकरण सोध्यो । आफुलाई पीडीत बनाइएको दाबी गर्ने कर्मचारी शाहका अनुसार वाक स्वतन्त्रता खोलामा बगाएर कम्पनीले जागिर खानेले हाम्रै विरुद्धमा लेख्न पाइन्छ ? भन्ने शैलीमा भकाभक स्पष्टिकरण सोध्ने र कर्मचारीलाई त्राहिमाम बनाउने काम गर्यो ।

यतिसम्म त छँदै थियो, तर लघुवित्तका सीइओले नै कर्मचारीको मानसिक स्थिति ठिक नभएको भन्दै प्रहरीमा जानकारी गराएपछि केस झन् झन् तात्तियो । आफ्नो हक अधिकारको कुरा उठाउँदा आफुलाई पागल भनेपछि कर्मचारी फायर हुनु स्वाभाविक थियो । अन्ततः सीइओले नै रातदिन काम गरेको आफुलाई पागल भनेपछि कर्मचारी कानुनी उपचारमा जाने तयारीमा छन् ।

कर्मचारीलाई किन पागल भनियो ? रातदिन काम गर्ने कर्मचारीलाई किन केहि दिन विदासमेत दिईएन ? फेसबुकमा कमेन्ट गरेको भरमा वा स्ट्याटस लेखेको भरमा किन कर्मचारीलाई स्पष्टीकरण सोधियो त ? हामीले यस विषयमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरु दाहाललाई सोधेका छौं । यो हेर्नुहोस् ।

सीइओ सापको कुरा अरु ठिकै ठिकै भए पनि कर्मचारीलाई पागल नै भनेको विषयमा भने खासै चित्तबुझ्दो जवाफ आएन । किनकि कसैलाई पनि मानसिक अवस्था ठिक नभएको भन्नलाई अस्पतालको प्रमाण चाहिन्छ । तर मेरो माइक्रोफाइनान्सका सीइओले मेरो के जान्छ र भन्ने शैलीमा ठोकिदिए पत्र प्रहरीकहाँ ‘मेरो कर्मचारी पागल हो भनेर ।’

काम-काम अनि काम, जति काम गर्दा पनि केहि दिन पनि विदा नपाएपछि कर्मचारी अलि खरो भएको पनि सत्य हो । तर, खरो भए, अलि ठुलो स्वर गरे, अलि बाङ्गो टिङ्गो उत्तर दिए कर्मचारीले भन्दैमा सीइओले कर्मचारीलाई पागल भन्ने मात्र होइन पागल नै हो भनेर प्रहरीकहाँ लेख्नु भने गलतमात्र होइन अपराध पनि हो ।

लघुवित्तको प्रेसरको जागिर हो, जागिर खानुअघि यो सबैले सोच्नुपर्छ । तर यसको अर्थ लघुवित्तमा कर्मचारीलाई छानी छानी पेल्न पाइन्छ र तेल नै निस्किने गरी पेल्न पाइन्छ भन्ने हुँदै होइन । मेरो माइक्रो फाइनान्सले प्रचलित श्रम कानुनको धज्जी त उडाएको छ नै, उसले कर्मचारीलाई मानसिक स्थिति ठिक नभएको भन्ने देखिन आएको भनेर जुन पत्र प्रहरीकहाँ लेखेका छन्, अहँ यो जस्टिफाई हुने विषय हुँदै होइन । बाँकी, कर्मचारी अदालत जाँदैछन्, यसको व्याख्या अदालतले नै गरोस् । तर बुझ्नुपर्ने कुराचाहिं के छ भने कर्मचारी भन्दैमा मनपरी ढंगले पेल्ने कसैले पनि पाउँदैन र यसमा नियामक गम्भीर हुन जरुरी छ । नविनले त जागिर धरापमै राखेर बोले, बोल्न नसक्नेहरु पर्दा पछाडी अझै पनि धेरै छन् । (भिडियो) 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: