काठमाडौं । नेपाल महिला चेम्बरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ‘ट्रेड शो तीज स्पेशल २०२३’ को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रबर्द्धन महिलाहरुमा उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको उद्धघाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका हुन् ।
उद्धघाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरुको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको विकास तथा सामाजिक, संस्कृतिक तथा आर्थिक क्रियाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरेका थिए । त्यस्तै, महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउँदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाइ धन्यबाद व्यक्त गरेका थिए ।
अवसरमा गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।
नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरुको सहभागिता रहेको र उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिएका थिए ।