काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले राष्ट्र बैंकले निजी क्षेत्रलाई ‘माग्ने’ सम्झिएको आरोप लगाएका छन् । ‘नाडा अटो शो २०२३’को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो आरोप लगाएका हुन् ।
अर्थतन्त्र सुधारका क्षेत्रमा निजी क्षेत्रले उठाएका माग र दिएका सुझावहरुलाई राष्ट्र बैंकले बेवास्ता गरेको गुनासो गर्दै अध्यक्ष ढकालले बजारमा निजी क्षेत्र भनेका माग्ने हुन् भन्ने भाष्य स्थापित गरिएको आरोप लगाए । ‘हामीले अर्थतन्त्र सुधारका सवालमा थुप्रै सुझावहरु दिएका छौँ । तर, राष्ट्र बैंकले निजी क्षेत्रका मागका सम्बन्धमा कुनै कोर्डिनेशन नै गरेको छैन ।’, उनले भने, ‘बरु निजी क्षेत्रले माग्ने मात्रै हुन् भन्ने भाष्य स्थापित गरिएको छ ।’
त्यस्तै, अध्यक्ष ढकालले निजी क्षेत्रले उद्योगी–व्यवसायीको मात्रै नभएर समग्र जनताका तर्फबाट सुझाव दिने गरेका प्रष्ट पारेका छन् । तर, जति सुझाव दिए पनि ति सुझावहरुको बेवास्ता भएको ढकालको भनाई छ । हाल अर्थतन्त्रमा देखिएको समस्या पनि नियामक निकायको यही प्रवृत्तिका कारणले सृजना भएको ढकालले बताएका छन् ।
योसँगै उनले निजी क्षेत्रका सुझावलाई व्यवसायीको मात्रै सुझावका रुपमा नभएर सारा जनताको सुझावका रुपमा ग्रहण गर्न पनि आग्रह गरेका छन् ।