काठमाडौँ । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी रहेको छ । शनिबार बिहान लुक्लाबाट लोबुचे सोलुखुम्बु उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई थप उपचारका लागि भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको अस्पतालले जानकारी दिएको हो ।
श्री एअरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार, ‘चार्टर्ड जहाज शनिबार बेलुकी ९:२० बजे मुम्बईको लागि उडेको थियो । उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरेका थिए ।’
त्यस्तै, बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी डा. इन्चार्ज निशान्त ढकालले जानकारी दिए । गम्भीर घाइते सेढाईंलाई ह्याम्स अस्पतालमा शनिबार डा. निशान्त ढकाल, डा. सन्तोष न्यौपाने, डा. राम कृष्ण बुढाथोकी, प्लास्टिक सर्जन डा. कृष्ण मानन्धर, पारामेडिक्सतर्फ सरोज चौधरी र बली जंग शाहीले उपचार गरेका थिए ।
शनिबार बिहान लुक्लाबाट लोबुचे सोलुखुम्बु उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालले जानकारी दिएको हो । साथै , उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जनाएको छ ।
सो घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । उनको शरीर तथा हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ‘डेब्रिडेमेन्ट’ र ‘इस्कराटोमी’ गरी उपचार भएको हो ।
साथै , हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे सोलुखुम्बु उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।