काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्न घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तको मङ्सिर २४ गते आइतबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश बापत कुल २ करोड २४ लाख ९६ हजार ९ सय १६.८९ रुपैयाँ खर्च गर्ने भएको छ ।
उक्त प्रस्तवित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृत र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीमा वितरण गरिनेछ ।
यस्तै, कम्पनीले स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना ७०ः३० अनुपात बनाउन एफपीओ निष्कासन प्रक्रियामा रहेको जानकारी गराएको छ । तसर्थ, साधारण सभा अगावै उक्त अनुपातमा सेयर समायोजन भएमा समायोजित सेयरधनीले समेत प्रस्तावित लाभांश पाउने कम्पनीको भनाई छ ।