ए माननीय गगन थापा ज्यू,
तपाईंले नयाँ स्टक एक्सचेन्जका बारेमा दिनुभएको अभिव्यक्ति सुनेँ । लाज पनि लजाउनेगरी तपाईंले दिनुभएको अभिव्यक्तिपछि तपाईंलाई केहि कुरा लेख्न मन लाग्यो । तपाईं आम जनता र लगानीकर्ताको नेता हो कि कुनै एउटा चन्दादाता व्यापारिक समुहको कामदार ? तपाईंलाई फण्डिङ गरेको ग्रुपले पाएको वा तपाईंले ल्याएको अर्को कुनै अमुक अध्यक्षले दिएको स्टक एक्सचेञ्ज मात्र शुद्ध हुने हो ? वा नयाँ स्टक एक्सचेञ्ज नै ठिक छैन, कहिले आउनै नहुने हो ? कहिलेसम्म झुक्काउने र अल्मल्याउने हो हामी आम लगानीकर्तालाई ? तपाईं खासमा चाहिँ कसको खेताला हो ? जनताको कि सधैँ सबै क्षेत्र कब्जा गरेका नेपालका ६ जना व्यापारीको ? ती छ जना व्यापारिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स पाउने सुनिश्चितता नहुन्जेल भ्रष्टाचार हुने हो ? तपाईंले केका लागि, कसको वकालत गर्दै हुनुहुन्छ ? कहिलेसम्म रोकेर राख्ने हो नयाँ स्टक एक्सचेन्ज ? अझै, पटकपटक यस्तै काइते विरोधका कारण १७ बर्ष हुन लाग्यो त नौटंकी गर्दै बिरोध गर्दै बसेको, अव कहिलेसम्म हो यसरी बस्ने ? यसपाली त जोसुकैले पाओस्, खुला प्रतिस्पर्धाको आधारमा आउन लागेको तथा पूँजीबजार विकास र बिस्तारको निम्ति अपरिहार्य भैसकेको नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको प्रकृया नरोकौं । अन्यथा यो पूँजी बजारलाई अर्को १७ वर्ष ढुङ्गे युगमै धकेल्ने प्रयास हुनेछ ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स कसैलाई मन लाग्यो भन्दैमा सुटुक्क त्यसै दिने हो र ? प्रचलित कार्यविधि, नियम, कानुन, खरिद ऐनमा नै टेकेर, प्रतिस्पर्धाको आधारमा, महिनाअघि सार्वजनिक खुला सूचना निकालेर, मूल्यांकन गरेरै दिने होला नि, होइन र ?
तपाईं पनि माननीय मन्त्री भैसकेको मान्छे, के तपाईं पनि लाइसेन्स दिँदा मन परेको मान्छेलाई टिका लगाएर दिने गर्नुहुन्थ्यो ? कसको हण्डि खाएर सिङ्गो पुँजीबजारको विकास र विस्तारलाई रोक्न खोज्दै हुनुहुन्छ ? धितोपत्र बोर्डले कहाँ, कुन कुरामा कमजोरी गर्यो ? तथ्यमा बोल्नुस्, गलत भए कारबाही गर्नुस्, होलसेल र झेली राजनीतिक कुरा गरेर पूँजीबजारको विकास र बिस्तारको कामलाई अवरोध गर्ने काम नगर्नुस् ।
नेपालमा हालसम्म यतिका धेरै बैंक खुले, रि–इन्स्योरेन्स खुले, इन्फ्रास्ट्रक्चर बैंक खुले, इन्स्योरेन्सहरु खुले कुन ? कस्तो प्रतिस्पर्धा र प्रपोजल चित्त बुझाएर खुले भन्नुहोस् त ? तपाईँजस्तो नेताका प्रत्येक पाइलै पछिको विरोधले कहिले यो देश अघि बढ्ला र खै ? तपाईं पुराना बूढा नेता भन्दा कमजोर बुझाई र अध्ययन भएको ‘स्टन्ट मास्टर’ जस्तो खेताला नेताको रुपमा प्रकट भएको देख्दा सारै दुखी छौँ, बजारको विकास र बिस्तार चाहने हामी लगानीकर्ताहरू ।
राजनीति गरेर त्यसै पनि तपाईंहरुले देशलाई खोक्रो बनाइसक्नु भइसक्यो । अब तपाईँका चन्दादाता र हण्डि दाताको भजन गाउँदै आम लगानीकर्ताको माग रहेको नयाँ स्टक एक्सचेञ्जलाई रोक्नु भनेको तपाईं पनि तपाईंको मालिकले पाउने ग्यारेन्टी नभएसम्म रोक्ने पक्षमा हुनुहुन्छ हैन त ? हामीलाई भनिदिनु होला कसले पाउँदा ? कसले दिँदा ? कहिले दिँदा ? कुन देशको ऐन कानुन अनुसार दिँदा तपाईंलाई चित्त बुझ्ने हो ? हरेक कुराको विरोध गरेर विकास र बिस्तार को अवरोध गर्ने तपाईँजस्ता ‘स्टन्टबाज’ र खेताला नेताहरु यो देशका असली शत्रु हुन ।
करिब १६ बर्ष पहिले धितोपत्र बोर्डले अध्ययन गरेर सरकारले निर्णय गरिसकेको नेप्सेको पुन संरचना गर्ने र नयाँ स्टक एक्सचेञ्ज ल्याउने भन्ने कुरा आजसम्म किन अघि बढ्न सकेन ? यो भन्दा पहिला ३ वटै अध्यक्षको पालामा नयाँ स्टक एक्स्चेन्जको औचित्य छ भनी गरेका प्रयास किन विफल भए ? गगन थापा ज्यूले चाहिँ अध्ययन गर्नु भयो त ? त्यसबेलामा पुँजी बजार विकास विरोधीहरूले भ्रष्टाचार हुनसक्छ, कमिसन खान सक्छन् भनेका कारण न त नयाँ स्टक एक्सचेञ्ज आयो, न त नेप्सेको पुनर्संरचना नै भयो । नयाँ स्टक एक्सचेञ्ज सम्बन्धी कार्यविधि बनेर सबै कानुनी प्रकृयाहरू पुरा गर्दै प्रकृयाको अन्तिम चरणमा पुग्न लागेको सन्दर्भमा नेपालको पुँजीबजारको विकास र विस्तारलाई अवरोध गर्ने काम कसैको उक्साहटमा कुनै पनि तप्काबाट हुनुहुन्न ।
सडक नबनाउँ, पुल नबनाउँ, स्कुल नबनाउँ, अस्पताल नबनाउँ, घर नबनाउँ किनकी त्यहाँ पनि भ्रष्टाचार होला । जे कुरामा पनि शंका मात्र गरेर त जीवन चल्ला र ? देश यसरी बन्ला र ? हो, खाएको प्रमाण भए ल्याउँ, अनि कारबाही गर तर शंकाकै आधारमा उजुरी र विरोध गरेर देशको विकासलाई रोक्नेहरु शत्रु हुन जनताका ।
नेप्सेलाई कब्जा गरेर बजारमा चलखेल गरी लुट्न पल्केका, आफुले लाइसेन्स पाए ठिक नत्र कसैले पाउनुहुन्न भन्ने सोच भएका र बजारलाई सधैँ गिजोलेर विकास र बिस्तार हुन नदिने केही मुठ्ठीभर समुहको खेताला बन्न सुहाउँछ माननीय गगनज्यू तपाईँजस्ता युवा नेतालाई ?
दुई दशक पहिले अरुण थर्ड हाइड्रो भारतले बनाए देश बर्बाद हुन्छ भन्दै राजनीतिको रोटी सेक्ने कम्युनिष्ट नेताहरुले करिब २ दशक देशलाई २१ घण्टा सम्म लोडसेडिङको अन्धकारमा राखेर राजननीति गरेपछि फेरि अहिले भारतलाई नै दिएर अरुण थर्ड बनाउँदै गरेको कुरा हाम्रो दिमागमा ताजा नै छ । खोई, अहिले त्यही अरुण थर्ड भारतको कम्पनीले बनाउँदा देश सकिएन त, होइन र नेता ज्यू ? सकारात्मक र कन्ट्रक्टिब राजनकी विग्रह गर्नुस्, विग्रह, डिस्ट्रक्टिब र विरोधको लागि विरोधको राजनीति नगरौँ ।
हिजोका दिनमा तपाईं लगायतले एउटा सन्की पात्रलाई अनशन बस्न उक्साएर स्वदेशका सम्पूर्ण मेडिकल क्षेत्र ध्वस्त बनाएर, नेपाली विद्यार्थीहरू छिमेकी राष्ट्रका विश्वविद्यालयमा पढ्न बाध्य पार्नुभयो । अव नेपालको पूँजी बजारलाई अरु १० वर्ष पछिको हालतमा पुर्याएर सबै लगानीकर्ताको मर्ममा घात गर्दै हुनुहुन्छ । सरकारलाई फेरि पनि अनुरोध गर्छौँ, हामी गलत भए प्रमाणसहित कारबाही जोसुकैलाई गर तर नयाँ स्टक एक्सचेञ्जलाई रोकेर सिङ्गो पूँजीबजारलाई अन्तराष्ट्रिय स्तरको बनाउने अवसरलाई खेर जान नदेउ ।
हरेक कुराको विरोध गर्ने चोरहरुले देशलाई सधैँ गिजोलेर राजनीतिको रोटि सेक्ने प्रथाको अन्त्य गर्न पनि सबै लगानीकर्ताहरू सचेत हुन आवश्यक छ । जसले पाओस्, जसको पालामा आओस्, जसले दियोस्, तर प्रतिष्पर्धाबाट विद्यमान नियम कानुन र कार्यविधि अनुसार खुला प्रतिस्पर्धाबाट नयाँ स्टक एक्सचेञ्ज तत्काल आउनैपर्छ ।
कुरो बुझौँ, पूँजीबजारको अन्तराष्ट्रिय स्तरको विकास र विस्तार यही थोत्रो नेप्सेको भाँडोबाट सम्भव छैन ।