काठमाडौँ । रुपन्देहीको एक विद्यालयले उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार दिने गरेको पाइएको छ । रुपन्देहीको मायादेवी गाउँपालिकास्थित सुण्डी माध्यामिक विद्यालयले उत्कृष्ट विद्यार्थीलाई पुरस्कारस्वरुप भैँसी दिने गरेको पाइएको छ ।
विद्यालयले हालसालै सम्पन्न गरेको पुस्तक समीक्षा प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कारस्वरुप भैँसी दिएको छ ।
प्रतियोगितामा विद्यालयले पाँच वटा कक्षा समूह बनाएर प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धामा सहभागी ७ सय ३२ जना विद्यार्थीमध्ये हरेक समूहबाट उत्कृष्ट ७–७ जनालाई पुरस्कार वितरण गरिएको हो । जसमध्ये प्रत्येक समूहको पहिलो र दोस्रो हुने विद्यार्थीलाई भैँसी र अन्यलाई नगद पुरस्कार दिइएको विद्यालयले जनाएको छ ।
पुरस्कारबापत पाएको भैँसीबाट भएको आम्दानीले पढाई खर्च र परिवार चलाउन टेवा पुग्ने भन्दै पुरस्कारस्वरुप भैँसी दिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार नगद पुरस्कार दिए एकैपटकमा खर्च हुने तर भैँसी दिँदा भैँसीबाट भएको आम्दानीले पछिसम्म पनि खर्च टर्ने भएकाले पुरस्कारमा भैँसी दिइएको हो । पुरस्कारस्वरुप भैँसी पाएपछि भैँसी पाउने विद्यार्थीका अभिभावक पनि खुसी भएका छन् ।
सुण्डा माध्यामिक विद्यालयले हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्दै पुरस्कारमा भैँसी दिँदै आएको छ । हालसम्म विद्यालयले ३१ जना उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार दिइसकेको जनाएको छ ।