काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पुर्याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको र आउँदा दिनमा वन्यजन्तुले पुर्याएको क्षतिलाई बीमासँग आबद्ध गरी विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
‘वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको छ । कार्यविधि अनुसार प्रदेश सरकार र स्थानीय सरकार समेतको सहभागितामा राहत वितरण गर्ने व्यवस्था गरिएको छ । तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पुर्याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको छ ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आउँदा दिनमा वन्यजन्तुले पुर्याएको क्षतिलाई बीमासँग आबद्ध गरी वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबिच समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिँदैछ ।’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले मुक्त कमलरी र सुकुम्वासी समस्या समाधानका लागि लागि राष्ट्रिय भूमि आयोगले काम गरिरहेको बताए । हालसम्म १० लाख बढी निवेदन संकलन ४ हजार ५ सय ८४ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरिसकेको भन्दै केहि कानुनी जटिलताका कारण सम्बन्धित कानुन संशोधनको कार्य अगाडि बढाइएको पनि जानकारी दिएका छन् ।
‘मुक्त कमलरी र सुकुम्वासी समस्या समाधान विषयमा विगतदेखि सरकारले प्रयासहरु गर्दै आएको छ । राष्ट्रिय भूमि आयोग गठन गरी स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको छ । हालसम्म १० लाख बढी निवेदन संकलन भएको छ । यस्तै ४ हजार ५ सय ८४ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरिसकेका छन् ।’, प्रधानमन्त्रीले भने, ‘केही कानुनी जटिलताका कारण सयसँग सम्बन्धित कानुन संशोधनको कार्य अगाडि बढाईएको छ ।’