काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १०औं तथा ११औं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा चैत्र २७ गते मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा-६, कास्कीमा सम्पन्न भएको हो ।
बैंकको संचालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।
बैंकको संचित मुनाफा रकमबाट ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, बैंकको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम हुने प्रस्ताव पारित गरेको छ ।
संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्विरोध निर्वाचन सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक सुजन काफ्ले एण्ड एसोसियट्स चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।