काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर कम्पनी १ अर्ब ३९ करोड नोक्सानीमा छ । हाइड्रोपावरले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी नोक्सानीमा रहेको देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा हाइड्रोपवारले ६ अर्ब ५३ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ५.८ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीले यस्तो आम्दानी ६ अर्ब १७ करोड आर्जन गरेको थियो ।
बिजुली बिक्री आम्दानी उल्लेख्य हुँदा पनि कम्पनी नोक्सानीमा जानुको मुख्य कारण उच्च वित्तीय लागत हो । कम्पनीले बैंकलाई बुझाउनुपर्ने साँवा तथा ब्याज रकम उच्च हुँदा नोक्सानी देखिएको छ।
समिक्षा अवधिमा कम्पनीको वित्तीय लागत ४ अर्ब ६९ करोड रुपैयाँ छ । प्रशासनिक खर्च २८ करोड ५५ लाखबाट बढेर ४१ करोड ६१ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ८ अर्ब ६९ करोड रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५७ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ २५ पैसा छ ।