काठमाडौँ । गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोषणा भएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारीलाई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाटै समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
हाल समस्याग्रस्त घोषणा भएको उक्त सहकारी सम्पत्ति तथा दायित्व राफसाफको लागि सहकारी ऐनको दफा १०५ अनुसार गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।
गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्थापक डम्बरबहादुर बम्जन तामाङ हुन् । उनको तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा पनि संलग्नता देखिएका थियो । बम्जन र उनका दाजु तेजबहादुर तामाङसहित सहकारीका सञ्चालक, पूर्वसञ्चालकर र आफन्तले लिएको ऋण वर्षौँसम्म भुक्तानी नगरेपछि सहकारीमा समस्या देखिएको थियो ।
हाल उक्त सहकारीमा बचत र सेयरसहित सर्वसाधरणको साढे ४ अर्ब अपचलन भएको पाइएको छ । जसमध्ये १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋण बम्जन र उनका दाजु तेजबहादुरले लिएको देखिएको छ । यति मात्र होइन, बम्जनकी श्रीमती कुमारी तामाङको नाममा पनि सहकारीबाट ३ करोड६ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह भएको तर भुक्तानी नभएको पाइएको छ ।
हालसम्म उक्त सहकारीमा करिब साढे ७ हजार बचतकर्ताहरुले ४ अर्ब २७ करोड ८९ लाख ८६ हजार ५ सय २५ रुपैयाँ बचत दायित्व रहेको छ भने सहकारीको कुल ४ अर्ब ५६ करोड ८५ लाख ४४ हजार ४ सय २० रुपैयाँ ऋण उठ्न बाँकी रहेको छ ।