काठमाडौँ । कलाकार दीपकराज गिरीले मंगलबार घटेको सेयर बजारप्रति व्यङ्ग्य गरेका छन् । नेप्से परिसूचक १४५.०५ अंकले घटेपछि बजारका बारेमा भइरहेका फरकफरक टिप्पणीकाबीच गिरीले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्य गरेका हुन् ।
उनले सेयर बजार र श्रीमतीको मुड ठ्याक्कै उस्तै भन्दै ठट्टा गरेका छन् ।
‘नेपाली सेयर बजार र श्रीमतीको मुड ठ्याक्कै उस्तै, कसैले छिस्स केही भनिदियो कि बिग्रिहाल्ने !’, फेसबुकमा गिरीले लेखेका छन् ।
सेयर बजारप्रति गिरीको यस्तो ठट्टामा सेयर लगानीकर्ताहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले नेताहरुले सेयर बजारबारे दिएको नकारात्मक प्रतिक्रियाले सेयर बजार प्रभावित भएका बेला गिरीले गरेको ठट्टा मिल्दोजुल्दो भएको बताएका छन् भने केहीले सेयर बजारलाई ठट्टाको विषय बनाउन नहुने प्रतिक्रिया दिएका छन् ।
जे होस्, सेयर बजारप्रति गिरीको ठट्टा र बजारमा देखिएको ‘बिग करेक्सन’ले सामाजिक सञ्जाल तताएको छ ।
सोमबारको तुलनामा आज सेयर बजार मापक नेप्से परिसूचक १४५ .०५ अंकले घटेर २६५१ .३२ बिन्दुमा पुगेको छ । नेप्सेमा कुल ३ सय २२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा २३ अर्बमाथिको सेयर कारोबार भएको छ । बजार भारी अंकले घटेको दिन कारोबार रकमले रेकर्ड ब्रेक गरेको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।