काठमाडौँ । अमेरिकन डलर साटिदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ धार्पा घर भएका २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्ण लाल पाईन रहेका छन् ।
अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा बोलाई रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
रकम ठगी गर्ने उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कार्तिक २८ गते गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
हाल उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको प्रहरीले जनाएको छ ।