काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारमा व्यापक म्यानुपुलेसन हुने गरेको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै महतले म्यानुपुलेसनकै कारण सेयर बजारमा कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनीको मूल्य नबढ्ने स्थिति देखिएको बताएका हुन् ।
महतले कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गरेका छन् ।
‘कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ ।’, उनले भने, ‘यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ ।’
त्यस्तै, उनले सेयर बजारमा सिमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जाने दाबी गरेका छन् । महतले बजारमा हुने गलत गतिविधि रोक्न स्वयम् सरकारले पहल गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
साथै पछिल्लो समय सेयर बजारमा सिमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको पूर्वअर्थमन्त्री महतले दाबी गरेका छन् । उनले सेयर बजारसँगै समग्र मुलुकको अर्थतन्त्र चलायमान बनाउनेतर्फ ध्यान दिन पनि सरकारलाई आग्रह गरेका छन् ।