काठमाडौँ । पछिल्लो ६ महिनामा बैंकिङ प्रणालीबाट पौने १५ खर्ब तरलता तानेको नेपाल राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले आज (माघ २ गते) ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।
अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन प्रणालीबाट तरलता तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । बुधबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता तान्न लागेको हो ।
बुधबार राष्ट्र बैंकले तान्न लागेको ४० अर्ब निक्षेपको म्याद २१ दिनको हुनेछ । राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले बुधबार (आज) दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । उक्त निक्षेपको साँवा र ब्याज माघ २३ गते भुक्तानी गरिनेछ ।
आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।
बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएपछि अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन बैंकिङ प्रणालीबाट तरलता तान्न थालेको राष्ट्र बैंकले पछिल्लो ६ महिनामा १४ खर्ब ८६ अर्ब रुपैयाँ तरलता तानिसकेको छ ।