काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा १९.७९ प्रतिशतले बढेको छ । पुष मसान्तसम्म बैंकले ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.१० प्रतिशतले बढेर २ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १६.४६ प्रतिशतले बढेको छ । त्यस्तै, पुष मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी ७१ करोड ८५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ५४ करोड २८ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ३६ पैसाले बढेर १४ रुपैयाँ २८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २८ पैसा छ ।
त्यस्तै, चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३५ रुपैयाँ जम्मा छ । यसअवधिमा बैंकको खराब कर्जा भने २.५१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।