×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकार अर्थतन्त्रका समस्या चिन्दै र चिर्दै अघि बढ्ने कोसिसमा छ’ -अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सरकार अर्थतन्त्रका समस्या चिन्दै र चिर्दै अघि बढ्ने कोसिसमा छ’ -अर्थमन्त्री

Artha Sarokar

१० माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले दबाबमा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताएका हुन् ।
उपप्रधानमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनाबाट सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकार अघि बढिरहेको स्पष्ट पारे ।  ‘वर्तमान सरकार औसत काम गरेर दिन बिताउने पक्षमा छैन, समस्याका चाङ पन्छाएर छोटो अवधिमै दूरगामी महत्वका उपलब्धि आर्जन गर्न चाहन्छ’, उपप्रधानमन्त्री पौडेलले भने, ‘निराशालाई आशामा बदल्न सरकारले नीतिगत तथा कानुनी सुधार गरिरहेको छ ।’
सरकारको तीव्र आर्थिक विकासको योजनालाई साकार बनाउन राष्ट्रिय वाणिज्य बैंकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले तरलतालाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृष्टीमा परिचालित गर्न निर्देशन दिए । सरकार परिणाममुखी कामका लागि तीव्र गतिमा काम गर्न चाहन्छ भन्ने यसअघिका काम कारवाही र निर्णयबाट पुष्टि भइसकेको जनाउँदै उनले गुणस्तरीय सेवा प्रवाह र सुशासन, विदेशी लगानीलाई प्रोत्साहन गर्न अध्यादेशमार्फत ३२  कानुन संशोधन गरिएको स्पष्ट पारे ।
कडा मेहनत र परिश्रमबाट असाधारण उपलब्धि हासिल गर्ने दिशामा खट्न निर्देशन दिँदै उपप्रधानमन्त्री पौडेलले बैंकको प्रगति र प्रतिष्ठा व्यवस्थापन र कर्मचारीको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंक र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताए । समस्याग्रस्त संस्थाको व्यवस्थापन नियामकको हिसाबले राष्ट्र बैंकले गर्ने जनाउँदै उनले भने, ‘बाह्य हल्लाका पछाडि लाग्नुहुँदैन, अतारचढाव आउन सक्छन्, त्यो स्वभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ, कुनै पनि निक्षेपकर्तालाई डुब्न दिइँदैन ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका साथ रावा बैंक आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताए । उनले खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालनालगायत क्षेत्रमा बैंकले सुधार गर्दै लगिरहेको बताए ।
देशभैभर दुई सय ९४ शाखा रहेको सो बैंकले ७७ वटै जिल्लामा ४६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आइरहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको कुल निक्षेप रु चार खर्ब ५० अर्ब, कुल कर्जा सापट रु दुई खर्ब ८४ अर्ब, चुक्ता पुँजी रु १५ अर्ब ६३ करोड, कुल सम्पत्ति रु पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ रु दुई अर्ब ५५ करोड रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री पौडेलले कोहलपुर र महेन्द्रनगर शाखाका नवनिर्मित भवन र विभिन्न २७ शाखाको डिजिटल कारोबारको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी