काठमाडौँ । नेपाल मेडिकल कलेजका सेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा भएको छ। कलेजको २५ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
साधारण सभाका अनुसार आर्थिक वर्ष २०८०-०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैयाँ कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।
नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताएका हुन् ।