काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मंगलबार मन्त्री खड्काले फेरि घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरणमा अर्थ मन्त्रालय र उर्जा मन्त्रालयको सहमतिबिना भारतसँग महसुल बढाउने सम्झौता किन गरेको ? भन्ने विषयमा जवाफ मागिएको छ ।
त्यसबाहेक प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा दीपक खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा र अन्तराष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङसँग स्पष्टीकरण सोधिएको छ ।
उर्जामन्त्री खड्काले यसअघि पुष २२ गते र पुष २८ गते पनि घिसिङलाई स्पष्टीकरण सोधेका थिए । तर, सो स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरि स्पष्टीकरण सोधिएको हो । यसपटक पनि जवाफ चित्त नबुझे घिसिङलाई पदबाटै हटाउने स्पष्टीकरणमा भनिएको छ ।
यसो त उर्जामन्त्री खड्काले सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमानलाई प्राधिकरणबाट हटाउने प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, काँग्रेसकै अन्य मन्त्रीले कुलमानलाई प्राधिकरणबाट हटाउन नहुने भन्दै फरक मत राखेपछि सो प्रस्ताव रोकिएको थियो । नेपाली काँग्रेसकै नेता भए पनि प्रधानमन्त्री ओली र उद्यागीहरुको जोडबलमा उर्जामन्त्री खड्का कुलमानलाई प्राधिकरणबाट हटाउन लागि परेको चर्चासमेत राजनीतिवृत्तमा छ ।
तर, मन्त्रिपरिषद् बैठकमा प्रयास असफल भएपछि उर्जामन्त्रीले स्पष्टीकरणको बाहना बनाएर कुलमानलाई हटाउने तयारी गरेको स्वयम् मन्त्रालयका एक अधिकारीले बताएका छन् । ‘मन्त्रिपरिषद्को बैठकबाट कुलमान जीलाई हटाउने थियो । त्यो प्रयास असफल भयो ।’, ती अधिकारीले अर्थ सरोकारसँग भने, ‘अब स्पष्टीकरणको बाहना बनाएर हटाउने तयारी हुँदैछ । अघिल्लो पटक पनि जवाफ चित्त बुझेको थिएन, यसपटक पनि बुझ्दैन । जवाफ चित्त नबुझे पदबाट हटाउने भनेर त स्पष्टीकरणमै भनिएको छ । त्यसैले नतिजा कुलमान जीकै विपक्षमा हुने सम्भावना बढी छ ।’