काठमाडौँ। महाशिला गाउँपालिका ६, फलामखानीका कतारस्थित नेपालीहरूले स्थापना गरेको फलामखानी सेवा समाज, पर्वत कतारले आफ्नै गाउँका आर्थिक रूपमा कमजोर १७ घरधुरीको स्वास्थ्य बीमा गरिदिएको छ।
शनिबार फलामखानी आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा समाजले आर्थिक रूपमा विपन्न, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा मृगौला पीडित १७ घरधुरीको स्वास्थ्य बीमा गरिदिएको हो। यसै अवसरमा विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने करिब ८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
कार्यक्रममा समाजले वडाकै ज्येष्ठ नागरिक चित्रकला क्षेत्रीलाई सम्मानसमेत गरेको छ। साथै, समाजका अध्यक्ष सागर सुनार रसाइली, सल्लाहकार दीपक सुनार र युवा समाजसेवी विक्रम पोखरेलले व्यक्तिगत रूपमा फलामखानीका ६ आमा समूहलाई आर्थिक सहयोग गरेका छन्। पोखरेलले विद्यालयलाई शैक्षिक उन्नयनका लागि नगद ५ हजार रुपैयाँ सहयोगसमेत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले समाजले गाउँमा गरेको योगदानको प्रशंसा गर्दै विदेशमा रहेका युवाहरूको यस्तो योगदान उल्लेखनीय रहेको बताए । उनले आगामी दिनमा वडा कार्यालय र समाजको सहकार्यमा विकास निर्माणका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि तथा समाजका अध्यक्ष सागर सुनार रसाइलीले विदेशमा कमाएको पैसा गाउँको विकासमा खर्च गर्ने उद्देश्यले समाज गठन गरिएको बताउँदै स्वास्थ्य उपचारको अभावमा कोही पनि ज्यान गुमाउन नपरोस् भन्ने सोचका साथ स्वास्थ्य बीमा गरिएको जानकारी दिनुभयो। उहाँले विदेशमा रहेका सम्पूर्ण युवालाई समाजमा जोडिन आह्वान गर्दै सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।
कार्यक्रममा वडा सदस्य प्रेम सुनार, पत्रकार दिपेश वि. पोखरेल, समाजसेवी भीम बहादुर क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अनिल विश्वकर्माले तथा स्वागत कुमार विक सुन्चौरीले गरेका थिए । कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्