काठमाडौँ । केन्द्रीय बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना समावेश गर्न नपाइने भएको छ । टुक्रे योजना अत्याधिक हुँदा बजेट बाँडिने र काम पनि नहुने स्थिति देखिएपछि तीन करोडभन्दा कम लागतका योजना बजेटमै समावेश नगर्ने व्यवस्था गरिएको हो ।
तीन करोड रुपैयाँ भन्दा कम लागतका आयोजनालाई इन्ट्री नै हुन नदिनेगरी सफ्टवेयरमा व्यवस्था गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
योसँगै अब आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँ भन्दा कम लागतका आयोजना समावेश गरिने छैनन् । तीन करोड भन्दा कम लागतका आयोजना सफ्टवेयरले नै अस्वीकार गर्नेछ । अर्थात, राष्ट्रिय आयोजना बैंकमा कुनै आयोजना पर्न कम्तीमा तीन करोड रुपैयाँ लागतको आयोजना हुनुपर्नेछ ।
यसअघि चालु आर्थिक वर्षकै बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले एक लाख रुपैयाँसम्मको आयोजना पनि बजेटमा समावेश गरेका थिए । केन्द्रीय बजेटमा वडा मार्फत हुनुपर्ने आयोजना पनि समावेश गरिएको भन्दै विरोध हुँदै आएको थियो । अन्ततः अब भने केन्द्रीय बजेटमा तीन करोड रुपैयाँ भन्दा कम लागतका आयोजनाले इन्ट्री नपाउने भएका छन् ।