काठमाडौँ । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४८.६७ प्रतिशतले घटेको छ ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चैत मसान्तसम्म कम्पनीको आम्दानी ०.६४ प्रतिशतले घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको वित्तीय आम्दानी ४६.०२ प्रतिशत र कुल आम्दानी ८.८९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपिएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपिएस १९ रुपैयाँ ९६ पैसाले घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय ३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ ।