काठमाडौँ । सहकारी पीडितहरुले काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । दुःख, सुख गरेर कमाएको पैसा सहकारीमा डुबेपछि सर्वश्व सकिएको भन्दै सहकारी पीडितहरुले काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारसँग सहकारीमा डुबेको आफूहरुको पैसा यथाशीघ्र फिर्ता गर्न माग गरेका छन् ।
आइतबार अर्धनग्न भएर प्रदर्शनमा उत्रिएकाहरु सबै पुरुष थिए । उनीहरुले सहकारी समस्या समाधान नगरे र आफूहरुको बचत फिर्ता नभए पूरै नाङ्गो भएर प्रदर्शन गर्ने पनि चेतावनी दिएका छन् ।
यसो त यसअघि सहकारी पीडित महिलाहरुले काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन गरेका थिए । उनीहरुले पनि सहकारीमा रकम डुबेको वर्षौं बितिसक्दा पनि सरकारले बचत फिर्ताका लागि कुनै चासो नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । यसअघि महिला र हाल पुरुषहरुले पनि अर्धनग्न भएर प्रदर्शन गरेपछि अहिले सामाजिक सञ्जालमा ‘काठमाडौँ लजायो’ भन्दै टिप्पणी भइरहेको छ ।
आइतबार काठमाडौँमा अर्धनग्न भएर प्रदर्शनमा उत्रिएका सहकारी पीडित पुरुषहरुले सडकमै बसेर रोटी र चट्नीसमेत खाएका थिए । अर्कोतर्फ महिलाहरुले थाल थटाएर पनि सरकारको विरोध गरेका थिए । उनीहरुले कोष खडा गरेर भए पनि सहकारी पीडितहरुको बचत फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।