काठमाडौँ माओवादी केन्द्रका सांसद एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरुको बढुवा र चन्द्रमामा जग्गा किन्नु उस्तै भएको टिप्पणी गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै पूर्वमन्त्री पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले शिक्षकहरुको बढुवाको विषय चन्द्रमामा घडेरी किनेर घर बनाउने जस्तै भएको भन्दै शिक्षकहरुको बढुवा हुनै नसक्ने खालको बनाउन खोजिएकोले सच्याउनुपर्नेमा जोड दिएका छन् ।
हुँदै नहुने विषयलाई ‘हुन्छ’ भनेर शिक्षकहरुलाई झुक्याउन नहुने पौडेलले बताएका छन् । शिक्षकहरुसँग सरकारले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने पौडेलको भनाई छ । उनले शिक्षकहरुसँग सहमति गर्ने विधेयकमा अर्को विषय आएकोले सम्झौताअनुसार मन्त्रालयको प्रतिवद्धता नआएसम्म कुनै छलफल अघि नबढ्ने स्पष्ट पारेका छन् ।
अर्कोतर्फ निजी विद्यालयको हकमा निश्चित समय राखेर संविधानअनुसार शैक्षिक गुठीमा लागिनुपर्ने भन्दै संविधानले नै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरेकाले सोही अनुरूप निजीलाई निश्चित समय दिएर अघि बढ्नुपर्ने पौडेलले सुझाव दिएका छन् ।
उनले सबै कुरा शिक्षकहरुले भनेअनुसार नै हुनुपर्छ भन्ने नभएपनि कतिपय विषयमा समस्या हल गर्नेगरी सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।