काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकमा अर्बौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बैंकका संस्थापक अध्यक्ष एमाले नेता रहेको खुलासा भएको छ । बैंकमा पटकपटक गरेर २ अर्ब ५० करोड रुपैयाँ हिनामिना गरेको तथ्य फेला परेपछि पक्राउ परेका राजेन्द्रवीर राय एमालेका नेता रहेको खुलासा भएको हो ।
सल्यानको शारदा नगरपालिका स्थायी ठेगाना भएका राय नेकपा एमालेबाट २०७९ सालको प्रतिनिधिसभा सदस्यको चुनाव लडेका थिए । उक्त चुनावमा उनी एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वालासँग पराजित भएका थिए ।
यसो त बैंक घोटाला प्रकरणमा बैंकको विशेष छानविन समितिले गरेको अनुसन्धानबाट उनले चुनावमा लड्नु भन्दा अघिदेखि नै बैंकमा घोटाला गरेको देखिएको छ । यतिसम्म की उक्त समितिले रायकै मुख्य योजनामा बैंकमा अर्बौं घोटाला भएको निष्कर्ष निकालेको छ । बैंकको अर्बौं घोटाला गरेका उनै रायलाई एमालेले प्रतिनिधि सभा सदस्यको टिकट दिएको थियो । यद्यपि उनी पराजित भएका थिए ।
विशेष समितिको छानबिनपछि राष्ट्र बैंकले गरेको अनुसन्धानमा पनि बैंकमा अर्बौं घोटाला भएको र सो घोटालामा रायको संलग्ना पुष्टि हुने थुप्रै प्रमाण फेला परेपछि राष्ट्र बैंकले सीआईबी गुहारेको थियो ।
तर, सीआईबीले अनुसन्धान सुरु गर्नुअघि नै राय फरार भइसकेका थिए । लखनउमा अपार्टमेन्ट भाडामा लिएर बसेको सूचनाका आधारमा सीआईबीले रायलाई पक्राउ गरेको छ । हालसम्म बैंकमा २ अर्ब ५० करोड रुपैयाँ घोटाला भएको उजुरी परे पनि थप उजुरी आउन बाँकी रहेको बताइएको छ । बैंकमा कुल ४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको हुनसक्ने अनुमान गरिएको छ ।