काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो १० महिना (साउनदेखि बैशाखसम्म) वाणिज्य बैंकहरुले ४७ अर्ब बढी नाफा कमाएका छन् । यस अवधिमा बैंकहरुले कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
यसो त वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । जुन चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो ।
चालु आर्थिक वर्षको बैशाखसम्ममा २० वाणिज्य बैंकमध्ये १० बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ । नाफा बढाउनेहरुमा सबैभन्दा अगाडि नबिल बैंक छ । नबिल बैंकले यस अवधिमा ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, नबिलपछि सबैभन्दा धेरै नाफा कमाउने ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, एनआईसी एशिया बैंकले सबैभन्दा कम ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकहरुको नाफा घट्नुमा बढ्दो खराब कर्जा मुख्य कारण रहेको स्वयम् बैंकरहरुले बताएका छन् । यस अवधिमा बैंकको ऋण नतिर्नेहरु बढेसँगै खराब कर्जाको ग्राफ पनि बढ्दो देखिन्छ । यसो हुँदा बैंकहरुले ठूलो रकम प्रोभिजनका लागि छुट्याउनु परेको छ । यही कारण पनि बैंकहरुको नाफामा दबाब देखिएको बैंकरहरुको भनाई छ ।