काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यवसायीक संघ संस्थाहरूका पदाधिकारीहरूको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यवहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्वयन गर्नु सुझाब दिएको छ ।
चेम्बरले मन्त्री भण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिको आधारमा मात्रै एमआरपीलाई कार्यन्वयनमा लैजानुपर्ने बताएको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई बञ्चित हुन नदिन तथा बजार र माल वस्तुबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरू अगाडि बढाइनु पर्ने अहिलेको आवश्यकता देखिएको छ ।’
व्यवसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको कृयाकलापले व्यवसायिक वातावरण थप बिग्रन सक्ने अध्यक्ष अग्रवालले बताए ।
चेम्बर पदाधिकारीसँगको छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरूसँगको समन्वयमा अविलम्व थप छलफल गरी मात्रै एमआरपी कार्यन्वयन प्रक्रियालाई आवश्यकता अनुसार अघि बढाइने बताए ।
मन्त्रालयमा भएको छलफलमा खुद्रा बिक्री मूल्य एमआरपीका सम्बन्धमा हाल देखिएका अन्यौलताबारे सबै सरोकारवालाबीच आपसी छलफलबाट अविलम्व टुङ्ग्याउनु पर्ने विषयमा सहमति भएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरूको पनि सहभागिता रहेको थियो ।