काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युत खरिदमा ‘टेक एण्डे पे’ प्रावधान राखेर गम्भीर गल्ति गरेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले ‘टेक एण्ड पे’ पीपीएको व्यवस्था र जलविद्युतमा पार्ने प्रभावका बारेमा राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले ल्याएको ‘टेक एण्ड पे’को व्यवस्थाले सिंगो उर्जा क्षेत्रलाई आंतकित गरेको भन्दै यसबारे समितिले निर्णय लिने उद्घोष गरेका छन् । भर्खरै अघि बढ्न थालेको यो क्षेत्रलाई आतंकित बनाउन नहुने सिंहको भनाई छ ।
सिंहले मुलुकलाई अँध्यारोबाट उज्यालोतर्फ अघि बढाएको यो क्षेत्रलाई राज्यले तहसनहस बनाउन खोज्दा पूर्वाधार समिति रमिते नबन्ने चेतावनी दिएका छन् । उर्जा व्यवसायीका साथै ६० लाख भन्दा बढी शेयर होल्डरहरु भएको क्षेत्रलाई सिध्याउने प्रपञ्च कसैले गरे त्यो सपना पूरा हुन नदिने सिंहले बताएका छन् । उनले निजी क्षेत्रका लागि पूर्वाधार समितिले न्यायोचित निर्णय गर्ने पनि बताएका छन् ।
त्यस्तै, उर्जा उत्पादक र सेयर होल्डरहरुको संरक्षण गर्न जरुरी रहेको सभापति सिंहको भनाई छ । सभापति सिंहका अनुसार छिट्टै जलस्रोत विधेयक पूर्वाधार समितिबाट पास गरिनेछ ।