काठमाडौँ । टिकटकर रमा बस्नेतलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
उनलाई असार १ गते विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।
उनीमाथि प्रधानमन्त्री र गृह मन्त्रीविरुद्ध अभिव्यक्ति दिएको आरोप छ । पक्राउ परेकी बस्नेतविरुद्ध गृह मन्त्रालयले नै अनुसन्धान गर्न पत्र लेखेको थियो । सोही पत्रका आधारमा बस्नेतलाई पक्राउ गरिएको थियो ।
हाल भने अदालतले उनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।