काठमाडौँ । नेपाली काँग्रेसले पार्टी कार्यालय विस्तारका लागि जग्गा खरिद गरेको छ । काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउन १९ आना जग्गा खरिद गरेको हो ।
सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र त्यसमा निर्मित तीन तले घर खरिद गर्ने निर्णय भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
जग्गा खरिदका लागि असार ११ गते नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, एक वर्षभित्र जग्गा पास गर्ने गरी ५० लाख रुपैयाँ बैना प्रदान गरिएको बुझिएको छ ।
उक्त जग्गा र घर १३ करोड रुपैयाँमा खरिद गरिएको जनाइएको छ । नेपाली काँग्रेसले यो रकम पार्टीको विभिन्न तहको लेवी र शुभेच्छुकहरूको सहयोगमार्फत जुटाउने योजना बनाएको छ । विज्ञप्तिमार्फत यो खरिद प्रक्रियामा सबैको अपनत्व हुने गरी रकम चुक्ता गरिने उल्लेख गरिएको छ ।
नेपाली काँग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित, सुविधा सम्पन्न र कार्यकर्तामैत्री बनाउन यो कदम चालेको बताइएको छ । कार्यालय परिसरको विस्तारले पार्टीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।