काठमाडौँ । दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष र सचिव फरार भएका छन् । बचत फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलित हुन थालेपछी सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री फरार भएका हुन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ शान्तिचोकस्थित डिंगनगरमा रहेको उक्त सहकारीमा करिब ३० करोड रुपैयाँ हिनामिना भएको अनुमान गरिएको छ ।
यसो त सहकारीमा रकम हिनामिना भएको सुइँको पाएपछि केही बचतकर्ताले सहकारीमा बचत फिर्ताको माग गर्दै आएका थिए । बचतकर्ताले बचत माग्न थालेपछी सहकारीको सञ्चालक समितिले बचत फिर्ता माग्नेलाई बचत फिर्ता गर्ने सहमति गरेको थियो । तर, अर्को दिन सहकारीका अध्यक्ष र सचिवले माइनुट नै च्यातिदिएका छन् । त्यसयता भने उनीहरु दुवैजना सम्पर्कविहीन छन् ।
हाल भने सहकारीमा थप प्रमाण नष्ट हुन सक्ने भन्दै बचतकर्ताले सहकारीको कार्यालयमा तालाबन्दी गरेका छन् । २०५० सालमा स्थापना भएको सहकारीमा करिब २ हजार सदस्य छन् । उक्त सहकारीले दूध संकलन गरी बिक्रीको कारोबार गर्दै आएको थियो ।