काठमाडौँ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो खुलेको छ । ७५ करोड रुपैयाँ लागतमा विमानस्थल परिसरभित्र डिपो खुलेको हो । उक्त डिपो निर्माणको काम २०८० साउन १ गतेदेखि सुरु भएको हो । डिपो निर्माणको काम दुई वर्षमै सकिएको छ । हाल डिपो सञ्चालनमा समेत आइसकेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार उक्त डिपो शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट निर्माण गरिएको हो । डिपोमा तीन वटा स्टोरेज टयांक रहेका छन् । जसको भण्डारण क्षमता कुल ३ हजार ६ सय किलोलिटर रहेको निगमले जनाएको छ ।
डिपोमा एक हजार दुई सय किलोलिटर क्षमताको एउटा पानी ट्यांकी पनि राखिएको छ । त्यस्तै, ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ । डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुइटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प र ८ इन्चको पाइप जडान गरिएको निगमले जनाएको छ ।
त्यस्तै, भण्डारण गृहमा रहेको हवाई इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाई इन्धन भण्डारण गृहमा राख्न आवश्यक मात्रामा प्रोडक्ट पम्प तथा लोडिङ/अनलोडिङमा क्रमशः १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको निगमले जनाएको छ । यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामका पाइप अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) मापदण्डमा आधारित रहेको पनि निगमले जनाएको छ ।